राष्ट्रिय पोशाक दिवस मात्रै मनाउने कि कार्यान्वयनमा ल्याउने होः पर्यटनमन्त्री आले



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले मन्त्रिपरिषदबाटै राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्न आफूले पहल गर्ने बताएका छन् ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, नेपालले राष्ट्रिय पोशाक दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आलेले अझै पनि राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा राज्यबाट नभएकोमा खिन्नता लागेको उल्लेख गर्दै अब छिट्टै बस्ने क्याविनेटबाट निर्णय गराउन आफू लागिपर्ने आश्वासन दिए ।

उनले त्यसका लागि आवश्यक तयारी गरेर आउन सो प्रतिष्ठानलाई आग्रह पनि गरेका छन् । मन्त्री आलेले राष्ट्रिय पोशाक दिवसको अवसरमा दिइएको सन्देशसहित आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय पोशाकलाई आधिकारिकता प्रदान गराउन अनुरोध गर्ने बताए ।

‘हामीले अहिलेसम्म राष्ट्रिय पोशाक मात्रै मनाईराख्ने हो कि ? त्यसलाई कार्यान्वयनमा ल्याउने हो ? तपाईंहरु पूरा तयारीको साथ आउनुहोस् । मेरो तर्फबाट यसलाई आधिकारिता दिनका लागि क्याविनेटमा यो फाईल लग्नेछु भन्ने कुरा म तपाईहरुलाई विश्वस्त बनाउन चाहन्छु,’ उनले भने ।

कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रिय पोशाक नेपालीहरुको राष्ट्रिय गौरव भएको बताए । उनले राष्ट्रिय पोशाकको कुरा गर्दा जातीय पोशाकको महत्व कम नहुने पनि बताए ।

कार्यक्रममा नेपाली भाषा, संस्कृति र पोशाकको प्रवद्र्धनमा योगदान पुर्याएकाहरुलाई सम्मान पनि गरिएको थियो ।


क्लिकमान्डु