नेपालीले गत वर्ष विदेशबाट ल्याए ४ अर्बको ब्यूटी प्रडक्ट, १० वर्षमा ३ गुणाले बढ्यो आयात



काठमाडौं । मानिसहरु सुन्दर देखिनका लागि प्रयोग हुने सौन्दर्य अथवा मेकअप वस्तुको आयात एक दशकको अन्तरालमा तेब्बरले बढेको छ ।
एक दशकको अन्तरालमा आयात भएको मेकअप वस्तु तेब्बरले बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

सौन्दर्य वा मेकअपका वस्तु विशेष गरी महिलाका लागि अति आवश्यक जस्तै बनेको छ । नेपालमा पनि वार्षिक अर्बौको सौन्दर्यको वस्तु खपत हुँदै आएको छ ।

सोही आयातित सौन्दर्य वस्तुबाट नेपालमा ३ लाख लाख बढी पार्लर व्यवसाय रहेको ब्यूटीसियन प्रोफेसनल एशोसियन अफ नेपालले जनाएको छ ।

सौन्दर्य व्यवसायले महिलाहरूलाई आत्मनिर्भर र आर्थिक स्तर उकास्नतर्फ डोर्याएको छ । सौन्दर्य व्यवसायले घर घरमा रोजगारी प्रदान गर्दै आएको एशोसियसनको भनाइ छ ।

प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको नदेखिए पनि आन्तरिक रुपमा महिलाहरूले धेरै रोजगारी पाएको एशोसिएसनको दाबी छ ।

विगतको दिनमा सौन्दर्य व्यवसाय नफस्टाएपनि अहिले भने उच्च रुपमा फस्टाएको देखिन्छ । करिब १ दशकको अन्तरालमा सौन्दर्य व्यवसाय मात्रै नभएर सौन्दर्य वस्तु पनि निकै खपत हुने गरेको तथ्याङ्कले स्पष्ट पार्दछ ।

आर्थिक वर्ष २०६५/६६ सालतिर नेपालमा सौन्दर्य व्यवसाय अहिलेको जस्तो सञ्चालन नभए पनि वस्तु भने उल्लेखनीय आयात हुँदै आएको थियो ।

सो आर्थिक वर्षमा नेपालले ८५ करोड रुपैयाँको सौन्दर्यको वस्तु आयात गरेको भन्सार विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।
अहिले उक्त सौन्दर्यको वस्तु तेब्बरले आयात हुने गर्दछ । आर्थिक वर्ष २०७७/७८ सम्ममा आइपुग्दा करिब १ अर्बको आयात गर्ने सौन्दर्यको वस्तु ४ अर्ब बढीको आयात हुँदै आएको छ ।


आर्थिक वर्ष ६६/६७ मा नेपालले १ अर्ब ६ करोडको आयात गरेको थियो । त्यस्तै, आव २०६७/६८ मा १ अर्ब ३१ करोडको, आव २०६७/६८ मा १ अर्ब ४० करोड र आव २०६८/६९ मा आइपुग्दा २ अर्ब ३ करोडको आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, आव २०६९/७० मा २ अर्ब ५४ करोड, आव २०७०/७१ मा २ अर्ब ६६ करोड, आव २०७१/७२ मा २ अर्ब ९८ करोड, आव २०७२/७३ मा ३ अर्ब ६८ करोड, आव २०७३/७४ मा ३ करोड ६४ लाख, आव २०७४/७५ मा ३ अर्ब ६४ करोड र आव २०७५/७६ मा ४ अर्ब ३५ करोड रुपैयाँको आयात भएको भन्सार विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

उक्त आयात भएको सौन्दर्यको वस्तु हालसम्मकै उच्च हो । करिब एक दशकअघिसम्म १ अर्ब रुपैयाँको पनि आयात नभएको वस्तु हाल वार्षिक ४ अर्ब बराबरको आयात हुँदै आएको छ ।

त्यस्तै, आव २०७६/७७ मा ३ अर्ब ५७ करोडको आयात भएको थियो भने आव २०७७/७८ मा ४ अर्ब ९ करोडको आयात भएको छ ।
त्यस्तै, हाल ५ महिनाको अवधिमा करिब साढे २ अर्बको आयात भइसकेको छ ।

भारतबाट मात्रै करिब ३ अर्बको आयात
भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७७÷७८ मा सबैभन्दा बढी भारतबाट सौन्दर्यको सामग्री आयात भएको देखिन्छ । भारतबाट मात्रै करिब ३ अर्बको आयात भएको छ । गत वर्ष नेपालले २ अर्ब ८७ करोड रुपैयाँको सौन्दर्यको वस्तु भातबाट आयात गरेको थियो ।

त्यस्तै, चीनबाट ५४ करोडको, थाइल्यान्डबाट १३ करोडको, अमेरिकाबाट ८ करोडको र अन्य देशबाट ४६ करोडको आयात गरेको थियो । उक्त आयातित वस्तुबाट नेपालले १ अर्ब ५३ करोड रुपैयाँ भन्सार महशुल संकलन गरेको थियो ।

नेपालमा आयातित सौन्दर्य वस्तुको भारतको ७० प्रतिशत हिस्स रहेको छ भने, चीनको १३ प्रतिशत, थाइल्यान्डको ४ प्रतिशत, अमेरिकाको २ प्रतिशत र अन्य देशको ११ प्रतिशत रहेको छ ।


क्लिकमान्डु