दर्जन बढी हाईड्रोपावरको लाभांश घोषणा, अधिकांशको औषतभन्दा कम



काठमाडौं । सञ्चालनमा रहेका जलविद्युत् कम्पनीहरुमध्ये १३ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका अधिकांश कम्पनीले औषतभन्दा कम लाभांश दिएका छन् । १३ वटा कम्पनीको औषत लाभांश १३.४९ प्रतिशत रहेको छ ।

१३ वटा कम्पनीमध्ये ५ वटा कम्पनीले मात्रै औषतभन्दा बढी लाभांश दिएका छन् । बाँकी कम्पनीको लाभांश औषतभन्दा कम रहेको छ ।

औषतभन्दा बढी लाभांश घोषणा गरेका कम्पनीमा ङादी ग्रुप पावर, बुटवल पावर कम्पनी, अरुण काबेली पावर, चिलिमे हाईड्रोपावर कम्पनीको लाभांश औषत भन्दा बढी रहेको छ । बाँकी रहेका ८ वटा कम्पनीको लाभांश औषतभन्दा कम नै रहेको छ ।

१३ वटा कम्पनीमा सबैभन्दा बढी ङादीले २१.०५ प्रतिशत लाभांश दिने भएको छ भने नेपाल हाईड्रो डेभलपरले ७.३६ प्रतिशत लाभांश दिने भएको छ ।

एकल अंकमा लाभांश दिने कम्पनी नेपाल डेभलपर नै रहेको थियो । बाँकी १२ वटा कम्पनीको लाभांश दोहोरो अंकमा रहेको छ । ङादीले २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै बुटवल पावर कम्पनीले २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १० र नगद १० प्रतिशत रहेको छ ।

अरुण काबेली पावरले १५.७८ प्रतिशत लाभांश दिएकोमा बोनस मात्रै १७ प्रतिशत दिएको छ । यस्तै कालिका पावर कम्पनीले १५.७८ प्रतिशत लाभांश दिएकोमा १५ प्रतिशत बोनस रहेको छ । १५ प्रतिशत लाभांश दिएको चिलिमे हाइड्रोले बोनस ७.५ र नगद ७.५ प्रतिशत दिएको छ ।

यस्तै रैराङ हाईड्रोपावरले १२.६ प्रतिशत, रिडी हाईड्रोपावरले पनि १२.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यी दुवै कम्पनीले नगद लाभांश मात्रै दिने प्रस्ताव गरेका छन् । बोनस भने दिएका छैनन् ।

अपी पावर कम्पनीले १०.५ प्रतिशत बोनस र कर प्रयोजको लागि ०.५५ प्रतिशत नगद लाभांश सहित ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

लाभांश घोषणा गरेका कम्पनीमा रुरु जलविद्युत कम्पनी, सानिमा माइ हाईड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट र अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्टले १०÷१० प्रतिशत बोनससहित १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन् । सबैभन्दा कम लाभांश नेपाल हाईड्रो डेभलपर रहेको छ । यो कम्पनीले ७.३६ प्रतिशत लाभांश दिएकोमा बोनस ७ प्रतिशत रहेको छ ।


क्लिकमान्डु