नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य, विदामा बसे डिल्ली अधिकारी



काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध दिर्नेशक डिल्ली अधिकारीको कार्यकाल सकिन लाग्दा विदामा बसेपछि प्रतिभा वैद्य निमित्त प्रबन्ध दिर्नेशकमा नियुक्त हुने भएकी छन् । वैद्य हाल टेलिकमको प्रमुख प्राविधिक अधिकृतमा कार्यरत छिन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैद्यलाई शुक्रबारदेखि निमित्ति प्रबन्ध दिर्नेशकका नियुक्त गर्ने तयारी गरेको छ । आज बिहीबारदेखि नै निमित्तमा नियुक्त गर्ने तयारी भए पनि सार्वजनिक विदा परेपछि शुक्रबार सारिएको मन्त्रालयले जनाएको छ ।

अधिकारी बिहीबारदेखि विदामा बसेका छन् । कार्यकाल सकिनुभन्दा पहिला विदा बस्ने नयाँ चलन शुरु गर्दै अधिकारी बिहीबारदेखि विदामा बसेका हुन् । यसअघिका प्रबन्ध निर्देशक कार्यकाल सकिनुभन्दा पहिला विदामा बस्ने चलन थिएन ।

‘अन्तिम समयमा विवादरहित हुनका लागि विदामा बस्ने चलन शुरु गरेको हुँ,’ अधिकारीले भने, ‘आजदेखि विदामा बसेको छु ।’

अधिकारीको कार्यकाल पुस २२ देखि सकिदै छ । प्रबन्ध दिर्नेशकको कार्यकाल सकिए पनि कानुनीरुपमा उनी टेलिकम कर्मचारी नै रहनेछन् ।

‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध दिर्नेशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, २०७८’ ले प्रबन्ध दिर्नेशकको कार्यकाल सकिएपछि स्वतः पुरानै पदमा फर्किने व्यवस्था गरेको छ ।

कार्यकाल सकिएपछि वैधानिक रुपमा टेलिकम कर्मचारी भए पनि त्यस विषयमा अहिलेसम्म कुनै पनि निर्णय नगरेको उनले बताए ।

सरकारले नयाँ प्रबन्ध दिर्नेशक नियुक्तिको लागि खुला प्रतिस्पर्धा अगाडि बढाइसकेको छ । यसको लागि नौं जनाले आवेदन हालेका छन् ।

तर, ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध दिर्नेशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, २०७८’को विरुद्धमा सर्वोच्चमा दुईवटा मुद्दा परेकाले उक्त प्रकृया रोकिएको छ । अदालतले पुस २६ गतेसम्म कुनै पनि प्रकृया अगाडि नबढाउन निर्देशन दिएको छ ।

नयाँ प्रबन्ध निर्देशक नियुक्ति नहुँदासम्म वैद्य निमित्त प्रबन्ध निर्देशकको रुपमा कार्यरत रहनेछिन् ।


क्लिकमान्डु