सरकारले चाँदीमा लागू गरेको कडाईले हालसम्मकै कम आयात



काठमाडौं । सरकारकाले चाँदीमा लागू गरेको कडाईले हालसम्मकै कम चाँदी आयात भएको छ । सरकारले पटक–पटक विभिन्न चरणमा लागू गरेको कडाइले चाँदी आयात कम भएको हो ।

बढ्दो आयातको कारण विदेशी सञ्चिती घट्दै गएपछि सन्चिती बढाउनका लागि पहिलो पटक सरकारले गत असोजमा चाँदीको भन्सार बढाएको थियो ।

विगतका दिनमा चाँदीमा प्रति १० ग्राममा ८७ रुपैयाँ भन्सार शुल्क लाग्ने गरेको थियो । सरकारले यसलाई बढाएर १०७ रुपैयाँ पु¥याएको थियो । जसले गर्दा चाँदीमा कडाई लगत्तै चाँदी आयातमा कमी आएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालले चाँदीलगायत चाँदीका पाउडर र चाँदीका कच्चा पदार्थ मात्रै ३१ हजार ६ सय ४० केजी चाँदी आयात भएको थियो । जसमा साउनमा मात्रै नेपालले ५५ करोड ४५ लाख रुपैयाँको आयात गरेको थियो ।

त्यस्तै, भदौमा उक्त आयातित चाँदीलगायत कच्चा पदार्थमा आयात बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । भदौ महिनामा मात्रै ४९ हजार ९ सय ५२ केजी चाँदी र चाँदीका कच्चा पदार्थ आयात भएको देखिन्छ ।

असोजमा पनि ४४ हजार ७ सय ४८ केजी चाँदी र चाँदीका कच्चा पदार्थ आयात भएको थियो । गतवर्षमा जति चाँदी आएको थियो यो वर्ष महिनामा सोही अनुपातमा चाँदी आएपछि सरकारले असोजको अन्त्यतिर भन्सार दर बढाउने निर्णय गरेको हो ।

सरकारले असोजको अन्यतिर उक्त निर्णय गरेसँगै कात्तिक महिनामा आयात आधाले घटेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । सरकारले असोजमा भन्सारदर बढाएसँगै कात्तिक महिनामा २४ हजार २० केजी मात्रै चाँदी र चाँदीका कच्चा पदार्थ आयात भएको छ ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकले अस्वाभाविक रुपमा चाँदी आयात भएर मुलुकको शोधनान्तर स्थिति ऋणात्मक भएको भन्दै गत मंसिरमा एकपटकका लागि चाँदी आयातमा सीमा तोकेको हो ।

चाँदी आयात गर्दा एक पटकमा ३५ हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको थियो ।

उक्त व्यवस्थाले गर्दा अब कुनै पनि व्यवसायीले ३५ हजार अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको चाँदी आयात गर्न नपाउने भएको छ ।

विगतको दिनमा एक पटकमा १ हजार केजीसम्म आयात गर्न पाउने व्यवसायीले अबका दिनमा ४० केजीभन्दा बढी चाँदी आयात गर्न पाउने छैन । सो व्यवस्थाले पनि चाँदी आयातमा निकै निरुत्साहित भएको भन्सारको तथ्याङ्कले उल्लेख गर्दछ ।

भन्सार विभागको तथ्याङ्कअनुसार सरकारले लागू गरेको कडाईले मंसिर महिनामा आइपुग्दा ५ हजार ९ सय १२ केजी मात्रै चाँदी र चाँदीका कच्चा पदार्थ आयात भएको छ । जुन हालसम्मकै कम हो ।

साथै, पुनः राष्ट्र बैंकले चाँदीलाई थप कडाई गरेको छ । राष्ट्र बैंकले गत हप्ता मात्रै २० वस्तुमा आयात कडाइ गरेको छ । ती वस्तुमा सतप्रतिशत र ५० प्रतिशतसम्म मार्जिन रकम राख्नुपर्ने निर्देशन दिएको छ ।

राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै १८ वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन र अन्य दुई वस्तुमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले जारी गरेको परिपत्रमा २० वस्तुमध्ये चाँदी र चाँदीका कच्चा पदार्थ पनि रहेको छ । सो कडाईले आगामी दिनमा मासिक १ हजार केजी पनि चाँदी आयात नहुने व्यवसायीहरूको भनाइ छ ।

व्यवसायीहरूले चालु आर्थिक वर्षको शुरुवाती देखिनै चाँदी उच्च रुपमा आयात भएको स्वीकार्छन् । तर, उक्त चाँदी व्यवसायीले मात्रै नभएर अन्य क्षेत्रका व्यवसायीले चाँदी आयात गरेको जनाएको छ ।

सरकारले उच्च रुपमा चाँदी आयात भएको भन्दै विभिन्न चरणमा कडाई गर्दै आएका छन् । जसले गर्दा आगामी दिनमा पछिल्ला समय व्यवस्था गरेको नियमले चाँदी आयात गर्न निकै कठिन भएको व्यवसायीहरूको भनाइ छ ।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यल सरकारले विभिन्न चरणमा चाँदी र चाँदीका कच्चा पदार्थ आयातमा भएको कडाईले कालोबजारी र मूल्य बढ्ने बताए । त्यसैगरी, हजारौं चाँदीका क्षेत्रमा रोजगारी पाएका श्रमिकहरू बेरोजगार हुने उनको दाबी छ ।

शुरुवाती महिनादेखि नै उच्च आयात हुँदै आएको चाँदी र चाँदीका कच्चा पदार्थ ५ महिनाको अवधिमा नेपालले १४ अर्ब ८५ करोड ६७ लाख ९८ हजार रुपैयाँको १ लाख ५६ हजार २७२ केजी आयात भइसकेको छ । उक्त आयातित चाँदीबाट नेपालले १ अर्ब ३९ करोड ४१ लाख रुपैयाँ भन्सार महशुल संकलन गरेको छ ।


क्लिकमान्डु