सम्पदा पुनर्निर्माण लागि महानगरसँग बजेटको अभाव छैन : मेयर शाक्य



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा पुननिर्माणका लागि महानगरसँग बजेटको अभाव नभएको बताएका छन् ।

दि प्याखं (देवी नाच) द्यः छेँ (देवघर) को खरु पूजा (मूल ढोकाको पूजा) गर्दै यस्तो बताएका हुन् । काठमाडौँ महानगरपालिका वडा १८ बिज्यापुननी, किलागलमा रहेको देवघरको मुल ढोकाको पूजा गर्दै यस्तो बताएका हुन् ।

पूजापछि अमूर्त सम्पदासँग जोडिएका मूर्त सम्पदा संरक्षणका विषयमा कुरा गर्दै मेयर शाक्यले, परम्परागत एवं तान्त्रिक नाच, बाद्यबादन, श्रृङ्गारजस्ता धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापले काठमाडौँका मूर्त सम्पदालाई जीवन्त बनाइ राखेको बताए ।

‘यी चालचलनविचको सम्वन्ध आपसमा जोडिएका छन् । एकको अभावमा अर्को अधुरो हुन्छ । त्यसैले हामीले सम्पदासँग जोडिएका सबै पक्ष (मूर्त अमूर्त) जोगिने गरी पुननिर्माणका लागि राज्यकातर्फबाट लगानी गरिरहेका छौँ’ उनले भने ‘हामीले बनाउँछौँ त्यसपछि संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित गुठियारलाई जिम्मा लगाउँछौँ ।’

मठ मन्दिर पुननिर्माण गर्दा काठ, धातु र ढुङ्गामा कुँदिने कलाका लागि महानगरको दररेट र बजारको भाउ नमिलेर समयमा काम हुन सकेन । देवी नाच देवघरका गुठीयार नरेन्द्र महर्जनले मेयर शाक्यसँग समस्या सुनाउँदै भने, ‘कुमारीको प्रतीकका रुपमा राखिने मयुर झ्याल कुँद्न महानगरको दररेटअनुसार २० हजार रुपैयाँभन्दा बढी खर्च गर्न पाइँदैन । बजारमा ८० हजार रुपैयाँभन्दा कममा काम गर्ने कालिगढ पाइँदैन । यस्ता कारण समस्या परेको छ ।’

समस्या सुनिसकेपछि प्रतिक्रिया दिँदै मेयर शाक्यले भने, ‘उपभोक्तासँग महानगरले गर्ने कामको बजेट सीमा कम भएकोले यस्ता प्राविधिक समस्या परेका छन् । कलाकारितासँग जोडिएका काम व्यवसायिकभन्दा फरक प्रकृतिका हुन्छन् । यसमा लाग्ने खर्च धेरै हुन सक्छ । यस्ता खर्चलाई प्राविधिक रुपमा पुष्टि गर्नु पर्नेहुन्छ । सम्पदा पुननिर्माण गर्न रकमको होइन, यस्ता केही कानुनी र विधिगत समस्या छन् । प्रक्रियाले मिल्ने भए एकै पटक ६ करोड रुपैयाँ उपलब्ध गराउन महानगरलाई समस्या छैन । तर, विधिगत कारणले सबै रकम एकैपटक दिन सकिने अवस्था छैन ।’

भवन निर्माणका लागि ६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । महानगरले यसका लागि गएको बर्ष १ करोड रुपैयाँ र चालु आर्थिक बर्षका लागि १ करोड रुपैयाँ छुट््याएको छ । जसमध्ये २ किस्ताबाट १ करोड २८ लाख ५८ हजार रुपैयाँ प्राप्त भइसकेको निर्माण समितिका कोषाध्यक्ष राजा महर्जनले बताए । उनका अनुसार थप २५ लाख रुपैयाँ अर्को किस्तामा निकासा हुने चरणमा छ । अहिलेसम्ममा २ करोड १५ लाख रुपैयाँबराबरको काम भएको छ । भवन ७ तले हुनेछ । देवी नाचमा ७ जना देवगण हुने भएकोले भवनलाई ७ तले बनाइने भएको हो ।


क्लिकमान्डु