सहकारीको ब्याजदर पुनरावलोकन गर्न बसेको बैठक आधार नपुगेपछि बिना निष्कर्ष टुंगियो



काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्टेरेस्ट रेट) निर्धारण तथा सिफारिस समितिको बैठक बिना निष्कर्ष टुंगिएको छ । सन्दर्भ ब्याजदर संशोधनको लागि बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीका अनुसार ब्याजदर बढाउनको लागि आधार नपुगेपछि अर्को बैठक २१ गतेको लागि बोलाइएकोे छ ।

अधिकारीका अनुसार ब्याजदर बढाउनको लागि थप अध्ययन गर्न आवश्यक देखिएका कारण अर्को बैठक पुस २१ गते बस्नेगरी टुंगिएको हो । ‘हामीले बिहान छलफल गर्यौ’ उनले भने ‘हामीले अध्ययनको क्रममा राष्ट्र बैंक, सहकारी बैंक लगायतका केही निकायबाट आउनु पर्ने आवश्यक विवरण नआइपुगेका कारण त्यो मगाएर थप अध्ययन गरेर २१ गते बैठक बस्ने निर्णय भयो ।’

अहिले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएको भन्दै सहकारी अभियानले ब्याजदर बढाउन दबाब दिइरहेको छ । अभियानले दबाब दिएपनि तत्काल ब्याजदर बढाउने आधार नपुगेको बैठकमा सहभागी एक सदस्यले बताए ।

अहिले १४.७५ प्रतिशत ब्याजदर भएपनि सहकारी ऐन २०७४ को दफा ५१ र सहकारी नियमावलीको नियम २३ मा अनुसार ब्याजदर निर्धारण गर्ने हो भने १३ प्रतिशतको हाराहारीमा हुने देखिएको बैठकमा सहभागी एक सदस्यले बताए ।

अभियानले ब्याजदर बढाउनुपर्छ भनेर दबाब दिइरहेको बेला झनै बढाउनु असम्भव भएपछि थप अध्ययन सहित अर्को बैठक २१ गते बस्न लागेको हो । विभागका रजिष्ट्रार अधिकारीका अनुसार अर्को बैठकले ब्याजदर केही बढ्न सक्ने बताए ।


क्लिकमान्डु