दशैं तिहारमा निकालेको पैसा बैंकिङ प्रणालीमा फर्कियो



काठमाडौं । दशैं तिहारमा सर्वसाधारणले निकालेको नगद प्रणालीमा फर्किएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार दशैं तिहारको समयमा गएको पैसा प्रणालीमा फर्किएको हो ।

कात्तिकको तुलनामा मंसिरमा चलन चल्तिमा रहेको नोट ३२ अर्ब ८९ करोड १२ लाख ६५ हजार रुपैयाँले घटेको छ ।

कात्तिक महिनामा ६ खर्ब ८७ अर्ब ७७ करोड ३० लाख ३२ हजार ९१७ रुपैयाँ रहेकोमा मंसिर महिनामा ३२ अर्ब ८९ करोड १२ लाख ६५ हजार रुपैयाँले घटेर ६ खर्ब ५४ अर्ब ८८ करोड १७ लाख ६७ हजार ९१७ रुपैयाँ रहेको छ ।

यस्तै भदौमा ६ खर्ब ४५ अर्ब ३९ करोड ५९ लाख ९८ हजार ७०० रुपैयाँ रहेकोमा असोजमा चलन चल्तीमा रहेको रकम बढेर ७ खर्ब १३ अर्ब ९८ करोड ८ लाख २२ हजार ९१७ रुपैयाँ पुगेको थियो । कात्तिकमा आइपुग्दा जनताले आफुसँग भएको रकम प्रणालीमा फर्काएका थिए । कात्तिकमा यस्तो रकम ६ खर्ब ८७ अर्ब ७७ करोड ३० लाख ३२ हजार ९१७ रुपैयाँ रहेको थियो । यस्तो रकम मंसिरमा झनै घटेको छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टका अनुसार राष्ट्र बैंक बाहेक अन्य बैंक र सर्वसाधारणमा कति रकम रहेको छ उक्त रकम चलन चल्तीमा रहेको रकममा उल्लेख रहेको बताए । ‘यस्तो रकम चाडपर्वको समयमा बढ्ने र चाडपर्वपछि घट्ने गरेको छ’ प्रवक्ता भट्टले भने ‘चाडपर्वपछि यस्तो रकम प्रणालीमा आउने गरेको छ ।’ अहिले दशैं तिहार पछि पैसा प्रणालीमा फर्केको हो ।

राष्ट्र बैंकका अनुसार एक महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थालाई दिने ऋण तथा सापटी रकम बढेको छ । कात्तिक महिनामा २ खर्ब ३८ अर्ब ९७ करोड ७६ लाख १९ हजार ५२७ रुपैयाँ रहेकोमा मंसिरसम्म आईपुग्दा बढेर २ खर्ब ४३ अर्ब ५ करोड ६ लाख ३ हजार १८५ रुपैयाँ रहेको छ ।
यस्तै अन्य ऋण तथा सापटी कात्तिकमा २० अर्ब ३१ करोड १२ लाख १२ हजार ४८३ रुपैयाँ रहेकोमा मंसिरमा यो रकम घटेर १५ अर्ब ५५ करोड ५० लाख ४ हजार ७१७ रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार मंसिरमा आईएमएफ सम्बन्धी दायित्व ४८ अर्ब ३४ करोड ८५ लाख २२ हजार ५५ रुपैयाँ रहेको छ । कात्तिकमा पनि यति नै रहेको थियो ।


क्लिकमान्डु