बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त
काठमाडौँ । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त भएका छन् ।
रिजाललाई सरकारले मंसिर १६ गते समितिको सञ्चालक पदमा नियुक्त गरेको समितिले जानकारी दिएको छ ।
समितिको सञ्चालकमा यसअघि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले राजिनामा दिए पछि रिक्त रहेको सञ्चालक पदमा सरकारले रिजाललाई सञ्चालकको रुपमा नियुक्त गरेको हो ।
रिजाल बीमितहरुको तर्फबाट समितिको सञ्चालक पदमा नियुक्त भएका हुन् । उनले समितिको सञ्चालक पदमा नियुक्त भएको पत्र समेत बुझिसकेका छन् ।
सरकारले रिजाललाई समितिको सञ्चालक समितिमा नियुक्त गरेसँगै बीमा समितिको बोर्डले पूर्णता पाएको छ ।
बीमा समितिको सञ्चालकहरुमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुशिल कोइराला, बीमा विज्ञको रुपमा कपिलदेव ओली र आन्तरिक राजश्व विभागका महानिर्देशक सह सचिव शोभाकान्त पौडेल रहेका छन् ।