अर्थतन्त्र पुनरुत्थानमा गएका कारण तरलता अभाव: राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र पुनरुत्थानमा गएको कारण तरलता अभाव भएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार पत्रकारसँग गरेको अन्तरक्रियामा अर्थतन्त्र पुनरुत्थानको लागि कर्जाको माग बढेको र सो अनुसार आयात भएको जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख डा प्रकाशकुमार श्रेष्ठले आर्थिक क्रियाकलाप बढेपनि मूल्यबृद्धिदर निर्धारण गरेको लक्ष्यभन्दा कम हुने जानकारी दिए । कोभिडपछि विदेशमा मूल्यबृद्धिदरमा ठूलो चाप परेपनि नेपालले त्यो भोग्न नपरेको उनको भनाइ छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्दा चुनौती भएपछि पछिल्लो समय घटेको कारण केही राहत भएको उनले टिप्पणी गरे ।
‘आयातलाई निरुत्साहन गर्न राष्ट्र बैंकले नीतिले सहयोग हुने अपेक्षा गर्न सकिन्छ,ब्याजदर बढेको कारण निक्षेप बढ्ने सम्भावना रहेको छ,’श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै भने ।

५ महिनामा १ खर्ब ५ अर्बले निक्षेप बढ्दा कर्जा ४ खर्ब ३५ अर्बले कर्जा बढेको छ । पुस लागेपछि भने कर्जाको तुलनामा निक्षेप बढेको जानकारी राष्ट्र बैंकले दिएको छ । पुस १ देखि ५ गतेसम्ममा १६.८ अर्ब निक्षेप बढ्दा कर्जा ४ अर्बले बढेको छ ।


क्लिकमान्डु