वैदेशिक व्यापारमा ठूलो हिस्सा रहेको भारत र चीनमा, नेपालबाट के के हुन्छ निर्यात ?



काठमाडौं । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार गर्ने मुलुक भारत र चीन हुन । सबैभन्दा धेरै आयात पनि यी दुई मुलुकबाट हुन्छ ।

यी दुई छिमेकी मुलुकमा आयातमात्र होइन, केही वस्तुहरु निर्यातसमेत गर्छ । जसले व्यापार घाटालाई केही भए पनि कम गर्न सहयोग भएको छ ।

वैदेशिक व्यापारमा ठूलो हिस्सा रहेको भारतमा नेपालबाट मुख्य ३६ वस्तु निर्यात हुँदै आएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँदछ ।

जसमा अलैंची, क्याटलफिड, दालचीनी, कप्पर वायर रोड, फलफूल, जीआई पाइप, ब्रान्स, अदुवा, हस्तकला, जडीबुडी, जुस, जुट, मार्बल स्ल्याब, आयुर्वेदिक औषधी, तोरी र लिनसिड, नुडल्स, पाम तेल, पेपर, पार्टिकल बोर्ड, पस्मिना, प्लास्टिक यूटेन्सिल, पोलिस्टर यार्न, रेडिमेड गार्मेन्ट, रोसिन, जुत्ताचप्पल, स्किन, भटमासको तेल, चिया, टेक्सटायल, धागो, टुथपेस्ट, टुर्पेनटाइन, तरकारी, तार र जिन्क सिट बढी निर्यात हुने गरेको राष्ट्र बैंकको तथ्याङ्कले उल्लेख गरेको छ ।

त्यसैगरी, चीनमा नेपालले अगरबत्ती, हस्तकला, चाउचाउ, पस्मिना, रेडिमेड कपडा, रेडिमेड छालाको वस्तु, रुद्राक्ष, स्किन, चिया, गहुँको पिठो र कार्पेट मुख्य रुपमा निर्यात हुँदै आएको छ ।

यस्तो भारत र चीनसँगको व्यापार घाटा

नेपालले हरेक वर्ष उक्त दुई देशसँग वार्षिक खर्ब बढी व्यापारघाटा व्यहोर्दै आएको छ । त्यस्तै, नेपालले भारतसँग आव २०७३/७४ मा ५ खर्ब ९९ अर्ब ७८ करोड, आव २०७४/७५ मा ७ खर्ब ६७ अर्ब ३८ करोड, आव २०७५/७६ मा ८ खर्ब ५५ अर्ब १९ करोड, आव २०७६/७७ मा ६ खर्ब ६५ अर्ब १८ करोड, आव २०७७/७८ मा ८ खर्ब ६५ अर्ब २३ करोड र चालु आवको ४ महिनाको अवधिमा ३ खर्ब १९ अर्ब १ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।

त्यसैगरी, चीनसँग नेपालले वार्षिक १ खर्बभन्दा बढी व्यापारघाटा व्यहोर्दै आएको छ । जसमा आव २०७३/७४ मा १ खर्ब २८ अर्ब १९, आव २०७४/७५ १ खर्ब ५७ अर्ब ५४ करोड, आव २०७५/७६ मा २ खर्ब ३ अर्ब ४० करोड, आव २०७६/७७ मा १ खर्ब ८० अर्ब ७२ करोड, आव २०७७/७८ मा २ खर्ब ३२ अर्ब ९० करोड र चालु आवको चार महिनाको अवधिमा ९३ अर्ब ९९ करोड रुपैयाँको व्यापार घाटो छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो ४ महिनामा नेपालले ७ खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।

नेपालले चार महिनाको अवधिमा ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँको निर्यात गरेको छ ।

नेपालले चार अवधिमा मात्रै ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । त्यसमध्ये सबैभन्दा बढी छिमेकी राष्ट्र भारत र चीनसँग व्यापार घाटा निकै चुलिएको छ ।

नेपालको वैदेशिक व्यापारमा भारत र चीनको ठूलो हिस्सा रहेको छ छ । जसमा नेपालले ४ महिनाको अवधिमा भारतसँग मात्रै ३ खर्ब १९ अर्ब १ करोड ३१ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको छ । सो अवधिमा नेपालले ३ खर्ब ८५ अर्ब ९५ करोड ७० लाख रुपैयाँको आयात गर्दा नेपालले ६६ अर्ब ९४ करोड ३९ लाख रुपैयाँको निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यस्तै, सोही अवधिमा चीनबाट ९४ अर्ब ३० करो १४ लाख रुपैयाँ बराबरको आयात गर्दा नेपालले ३१करोड १२ लाख रुपैयाँको मात्रै निर्यात गरेको थियो । उक्त अवधिमा नेपालले चीनसँग मात्रै ९३ अर्ब ९९ करोडको व्यापारघाटा व्यहोरेको छ ।

नेपालसँग वैदेशिक व्यापारको ठूलो हिस्सा रहेको छिमेकी राष्ट्र भारतमा मुख्य ३६ वस्तु निर्यात हुन्छ भने चीनमा भारतको मुख्य १२ वस्तु निर्यात हुँदै आएको छ ।


अरिष्मा मोक्तान