ऋणीको पक्षमा राष्ट्र बैंक, फिक्समा लिएको ऋणको ब्याज परिवर्तन गर्न नपाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीको पक्षमा निर्णय गर्दै निश्चित समयसम्म ब्याजदर नबढ्ने गरेर दिएको ऋणमा कुनैपनि कारणबाट ब्याजदर बढाउन नपाइने व्यवस्था गरेको छ ।

अघिल्लो वर्षदेखि राष्ट्र बैंकले घर तथा सवारी कर्जामा निश्चित समयसम्म ब्याजदर निश्चित हुने कर्जा दिन पाइने व्यवस्था गरेको थियो । बैंकहरुले तरलता सहज भएको बेला दिएको यस्तो कर्जामा अहिले विभिन्न नाममा नयाँ सम्झौता गर्न बोलाएर ब्याजदर बढाएका छन् । यस्तो गुनासो आएपछि राष्ट्र बैंकले ऋणीको पक्षमा निर्णय गरेको हो ।

‘कर्जा अवधि भर परिवर्तन नहुने गरी प्रवाहित कर्जामा ऋणीसँगको लिखित सहमतिमा पहिलो पटक ७ वर्षमा र तत्पश्चात प्रत्येक ५ वर्षमा ब्याजदर पुनरावलोकन गर्न सकिने छ । यसवाहेक अन्य जुनसुकै कारणबाट यस्ता कर्जाको ब्याज परिवर्तन गर्न पाइने छैन,’राष्ट्र बैंकले बिहीबार जारी गरेको निर्देशनमा भनिएको छ ।

यस्तै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा ग्राह्य हुने सम्पत्तिको मूल्याङ्कन गराउँदा मूल्याङ्कनकर्ताले कुनै स्वार्थ नबाझिने गरी वा पूर्वाग्रह नराखी स्वतन्त्र रुपमा, अन्तर्राष्ट्रिय मान्यता र असल अभ्यासहरु समेतका आधारमा धितोको मूल्याङ्कन गरेको यकीन गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।

यसका लागि तोकिएको कर्जा–निक्षेप अनुपातको अनुपालनाको लागि मासिक रुपमा अनुगमन हुने गरी निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्नुपर्ने छ । २०७९ असार मसान्तसम्ममा यस अनुपातलाई निर्धारित सीमा भित्र कायम गर्न आवश्यक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्नेछ ।


क्लिकमान्डु