चालु आवमा ५७ अर्ब रुपैयाँ वैदेशिक ऋण प्रतिवद्धता



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को मंसिर १० गतेसम्म ५७ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण प्रतिवद्धता आएको छ ।

अर्थमन्त्रालयलका अनुसार विभिन्न समय र शीर्षकमा विश्व बैंक, एशियन डेभलपमेन्ट बैंकलगायतबाट उक्त प्रतिवद्धता आएको हो ।

सबैभन्दा बढी कोभिड भ्याक्सिन खरिदका लागि प्रतिवद्धता आएको छ । यो शीर्षकमा १९ अर्ब ६९ करोड रुपैयाँ ऋण प्रतिवद्धता आएको हो । प्रतिवद्धता पत्रमा अर्थमन्त्रालय र एशियन विकास बैंकबीच साउन २७ गते सम्झौता भएको थियो ।

त्यस्तै दोस्रोमा सबैभन्दा बढी कृषि कार्यक्रम सञ्चान गर्न ऋण प्रतिवद्धता आएको छ । यो शीर्षकमा अर्थमन्त्रालय र इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्टबीच असोज १२ गते सम्झौता भएको हो ।

त्यसैगरी उच्च शिक्षा विकास कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ ऋण प्रतिवद्धता आएको छ । उक्त प्रतिवद्धता पत्रमा भदौ ३ गते हस्ताक्षर भएको थियो । स्वास्थ्य र विद्यालय शिक्षा विकास कार्यक्रमका लागि ११ अर्ब ७४ करोड रुपैयाँ ऋण दिने विश्व बैंकले प्रतिवद्धता गरेको छ । यो प्रतिवद्धता पत्रमा भदौ ३० गते हस्ताक्षर भएको हो ।

त्यसैगरी विद्युत् ग्रीड आधुनिकीकरणका लागि मंसिर १० गते एशियन विकास बैंकसँग ऋण सम्झौता भएको छ । उक्त सम्झौता अनुसार एडिबिले नेपाल सरकारलाई ७ अर्ब १३ करोड रुपैयाँ ऋण उपलब्ध गराउँने प्रतिवद्धता गरेको छ ।

त्यस्तै उक्त अवधिमा ५ अर्ब ८१ करोड रुपैयाँ वैदेशिक अनुदान प्रतिवद्धता पनि आएको छ ।


क्लिकमान्डु