६ महिनापछि प्राधिकरणले भारतबाट बिजुली आयात गर्न थाल्यो



C

काठमाडौं । नदीमा जलसतह घटन थाल्दा जलविद्युत् केन्द्रहरुमा बिजुलीको उत्पादन कम हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात शुरु गरेको छ ।

निर्यात भइरहेको २ जलविद्युत् आयोजनाको बिजुली समेत रोकिएको छ । प्राधिकरणले नुवाकोटमा आयोजना स्थल रहेका देवीघाट र त्रिशुली जलविद्युत् केन्द्रको ३९ मेगावाट बिजुली निर्यात गरेको थियो ।

आन्तरिक रुपमा व्यवस्थापन गर्नुपर्ने भएकाले निर्यात रोकिएको र आयात बढाइएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए ।

प्राधिकरणले मागका आधारमा भारतबाट बिजुली आयात शुरु गरेको छ । औसतमा दैनिक ७० मेगावाटको हाराहारीमा आयात भइरहेको छ । रातको समयमा भन्दा पनि दिनको समयमा पनि मागअनुसार आयात गर्नुपरेको उनले बताए ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा जोडिएपछि प्राधिकरणले आयात गर्न छाडेको थियो । गत असारदेखि प्रणालीमा तामाकोशीको ४५६ मेगावाट बिजुली जोडिएको थियो । यस्तै, निजी क्षेत्रका केही आयोजना समेत प्रणालीमा जोडिएका थिए ।

सो कारण देशभित्रै उल्लेख्य मात्रामा बिजुली उपलब्ध थियो । रातको समयमा झण्डै ८०० मेगावाटसम्म बिजुली खेर जाने अवस्था आएको थियो भने दिउँसाेको समयमा कूल ३०० मेगावाटसम्म बिजुली खेर गएको थियो ।

झण्डै ६ महिनासम्म स्वदेशी उत्पादनले नै धानेको प्राधिकरणले अब भने माग बढ्न थालेपछि आयात गर्नुपरेको जनाएको छ ।
‘आवश्यकताका आधारमा मात्रै माग गर्न थालिएको छ । हामीले यति उती भन्नुभन्दा पनि जति जरुरत पर्छ, सोहीअनुसार नै ल्याउन थालेका छौ ’ प्रवक्ता भट्टराईले भने ।

मंसिरको तेस्रो साता लागेपछि ने प्रणालीमा चाप पर्न थालेको थियो । सोही चापलाई व्यवस्थापन गर्न प्राधिकरणले पहिलो अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फपुरबाट बिजुली आयात गर्न थालेको हो ।

सो प्रसारण लाइनबाट बिजुली आयात गर्दा तुलनात्मक रुपमा सस्तो पर्न जान्छ । विहार तथा उत्तरुप्रदेश एवम् उत्तराखण्डको प्रणालीबाट जोडिने बिजुलीको महशुल बढी पर्न जान्छ ।

एकातिर बिजुलीको खपत बढाउने अभियान चलाइहेको प्राधिकरणलाई आयात नै गर्न थालेपछि केही जटिलता भने उत्पन्न हुन सक्छ । प्राधिकरणले पछिल्लो केही समय भित्रै थप ६० मेगावाट बराबरको बिजुली खपत बढाएको छ ।

औद्योगिक करिडोरमा गत वर्षको यही समयमा २५ लाख युनिट मात्रै माग रहेकामा यस वर्ष ५० लाख युनिटले बढेर झण्डै ७५ लाख युनिट बराबर पुगेको छ । माग बढ्दै गएकाले पनि आयातको मात्रामा वृद्धि गर्नु परेको हो ।

प्राधिकरणका अनुसार हाल पिक डिमाण्ड १५११ मेगावाट बराबर पुगेको छ । प्रणालीलाई नियमित राख्न तथा माग अनुसारको व्यवस्थापनका लागि आयात गर्न थालिएको जनाइएको छ ।

मंसिरको तेस्रो साताबाट आयात थालेको प्राधिकरणले पुस, माघ, फागुन र चैतमा तुलनात्मक रुपमा बढी बिजुली आयात गर्नुपर्छ । देशभित्र निर्माणमा रहेका आयोजनालाई शीघ्र सम्पन्न गर्नेतर्फ ध्यान दिनुपनि उत्तिकै महत्वपूर्ण रहेको छ ।

सरकारले चालु आवमा कूल १३०० मेगावाट बराबरको बिजुली प्रणालीमा जोडिने प्रक्षेपण गरेको भएपनि अधिकांश आयोजना स्थलमा प्रसारण लाइन र सवस्टेशनको कामले गति लिन सकेको छैन ।

रसुवागढी, साञ्जेन र माथिल्लो साञ्जेनको बिजुली जोड्ने प्रसारण लाइन र सवस्टेशनको काम आगामी असार भन्दा अगाडि सकिने सम्भावना कम रहेको छ । जनताको जलविद्युत् नाम दिइएका आयोजनाको कामको प्रगति समेत प्रभावकारी हुन सकेको छैन ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको दौडधुप जारी रहेपनि ठेकेदारले काम नगर्दा सरकारले प्रक्षेपण गरेको लक्ष्य अनुसार काम हुन नसक्ने अवस्था देखिएको छ । मध्यभोटेकोशी जलविद्युत् आयोजनाको अवस्था पनि उस्तै छ ।

दोर्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको अवस्था पनि उस्तै रहेको छ । ती आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको भएपनि प्रसारण लाइन र सवस्टेशनको काम प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही दिन पहिले स्थलगत निरिक्षण गरेर काममा गति दिन आग्रह गरेकी थिइन् । तर ठेकेदारको कमजोर कार्यसम्पादनका कारण सरकारको लक्ष्य पूरा हुन मुस्किल पर्ने देखिन्छ ।

सकेसम्म आन्तरिक उत्पादनबाटै माग धान्नुपर्ने भन्ने मानसिकतामा रहेको प्राधिकरणका लागि बिजुली आयात गर्नु आफैमा अब भने अमिल्दो विषय बन्ने हो कि भन्ने अवस्था पनि देखिएको छ ।

गत आवमा प्राधिकरणले भारतबाट झण्डै २३ अर्ब बराबरको बिजुली आयात गरेको थियो । गत आवमा मनसुनको समयमा समेत बिजुली आयात गर्नुपरेको थियो । यस वर्ष भने अवस्था त्यस्तो रहने । जे भएपनि देशभित्र निर्माणमा रहेका आयोजना सम्पन्न गरिए बिजुली आयातका लागि ठूलो मात्रामा धनराशी खर्च गर्नुपर्ने अवस्था आउने थिएन ।


क्लिकमान्डु