कर्णाली र सुदूरपश्चिममा २५ अर्ब खर्चेर भरपर्दो बिजुली पुर्‍याइँदै



C

काठमार्डौ । राज्यको नजरमा अझै पनि पछाडि परेको कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत् प्रणाली सुधारका लागि सरकारले विशेष योजना नै बनाएर काम अगाडि बढाएको छ ।

कर्णाली प्रदेशका जिल्लामा बिजुली उपलब्ध गराउने कोहलपुर– सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणका लागि केही दिनअघि मात्रै एशियाली विकास बैंकसँग ऋण सम्झौता भएको छ ।

विद्यमान ३३ केभी क्षमताको प्रसारण लाइनको स्तरोन्नती गरेर हाइभोल्टेज प्रसारण लाइन निर्माण गरिन लागेको छ । सो प्रसारण लाइनको क्षमता वृद्धिका लागि नेपाल विद्युत् प्राधिकरणले धेरै पहिलेदेखि प्रयास गरे पनि राष्ट्रिय निकुञ्जभित्रका रुख कटान तथा वन क्षेत्रको जग्गाप्राप्तिमा समय लागेका कारण अपेक्षित प्रगति हुन सकेको छैन ।

कोहलपुरबाट सुर्खेतसम्मको प्रसारण लाइनको क्षमता ३३ केभी भए पनि सुर्खेतबाट दैलेख, जुम्ला, कालीकोट पुगेको प्रसारण लाइनको क्षमता ११ केभी मात्रै रहेको छ । सानो क्षमताको प्रसारण लाइनका कारण सानो हावाहुरी आउँदा वा मनसुनको समयमा अत्यधिकमात्रामा बिजुली काटिने गरेको छ ।

सो समस्या समाधानका लागिसमेत प्राधिकरणले दातृ निकायको सहयोगमा रणनीतिक योजना अगाडि सारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले केन्द्रीय प्रसारण प्रणाली नपुगेका जिल्लामा सबै साधन र स्रोतको प्रयोग गरेर बिजुली उपलब्ध गराउने लक्ष्य राखेको छ । आगामी दुई वर्षभित्र कर्णाली प्रदेशको मुगु, डोल्पा र हुम्लामा प्रसारण प्रणाली पुर्‍याउने लक्ष्य राखिएको छ । यस्तै हाल प्रशारण प्रणाली पुगेका जिल्लाको क्षमता वृद्धिका लागिसमेत मन्त्रालयले काम गरिरहेको छ ।

ऊर्जामन्त्री पम्फा भुसालका अनुसार हरेक नेपालीको घरघरमा नै बिजुली उपलब्ध गराउने योजनाअनुसार मन्त्रालयले प्राधिकरणलाई विशेष प्याकेज बनाएर काम गर्न निर्देशन दिइएको छ । अर्थमन्त्री जनार्दन शर्माले पनि कर्णाली प्रदेशको प्रसारण प्रणालीको सुधार तथा बिस्तारका लागि स्रोत र साधनको कमी हुन नदिने प्रतिबद्धता जनाए ।

सुर्खेतदेखि कोहलपुरसम्मको प्रसारण लाइन निर्माणका लागि निर्माण व्यवसायी परिचालन भइसके पनि वन क्षेत्रको जग्गा प्रयोगका कारण समस्या परिरहेको छ । सुर्खेतदेखि दैलेख(जुम्लासमेत समेट्ने गरी थप २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि अध्ययन भइरहेको छ ।

प्राधिकरणले त्यसका लागि २५ अर्ब रुपैयाँ बराबरको लगानी गर्न लागेको छ । डोल्पाका लागि भने प्राधिकरणले अर्को प्याकेजमा काम गर्ने भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भएका कारणले डोल्पामा भने नेपाल सरकारको लगानीमा नै काम गर्नेगरी प्योकज बनाइएको छ । त्यसबाहेकका अरु जिल्लाका लागि युरोपेली लगानी बैंक र एएआइबीसँग सहुलियतपूणर् ऋण लिएर काम अगाडि बढाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । हाल बोलपत्रको कागजात तयार पार्ने काम भइरहेको छ ।

देशभर ९० प्रतिशत घरधुरीमा बिजुली पुगेको भए पनि कर्णाली प्रदेशमा औसतमा ४३ प्रतिशतमा बिजुली पुगेको छ । यही अवस्थालाई ध्यानमा राखेर प्राधिकरणले विशेष प्राथमिकता दिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

वितरण प्रणालीको व्यवस्थापन, सवस्टेशनको निर्माणका साथ साथै उच्च क्षमताको ४०० केभी प्रसारण लाइन निर्माण गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । प्रसारण लाइनको अभावमा लगानीकर्तासमेत कणरली प्रदेशमा आकर्षित नभएकाले त्यसलाई विशेष ध्यान दिइएको छ ।

प्राधिकरणले ३५ स्थानमा सबस्टेशन निर्माण गर्ने लक्ष्य राखेको छ । धेरैजसो स्थानमा स्थानीयवासीले प्राधिकरणलाई निःशुल्करुपमा जग्गा उपलब्ध गराएका छन् भने केही स्थानमा भने जग्गा खरिद गर्नुपर्ने भएकाले प्रक्रिया अगाडि बढाइएको छ ।

कर्णाली प्रदेशको भेरी करिडोरमा पनि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखिएको छ । यस्तै नलगाड–छिन्चु प्रसारण लाइन निर्माणको प्रक्रिया पनि अगाडि बढाइएको छ । प्राधिकरणले एकैसाथ उच्च क्षमताका र वितरणका लागि कम क्षमताका प्रसारण लाइन निर्माणलाई अगाडि बढाएको छ ।

प्राधिकरणले बिजुली पुर्‍याउने काममा स्थानीयवासीको समेत उत्तिकै सहयोग चाहिने भन्दै त्यसका लागि सहयोग गर्न आग्रहसमेत गरेको छ ।

भौगोलिक हिसाबले पनि काम गर्न कठिन हुने भएकाले विशेष कार्ययोजना नै बनाएर काम सुरु गरिएको जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङ कर्णाली प्रदेश पछाडि पर्‍यो र पारियो भन्ने मान्यताको अन्त्य गर्न लागिएको बताउँछन् ।

काठमाडौं उपत्यका र सहरी क्षेत्रमा विद्युतभार कटौती अन्त्य भएको थाहा पाएका कर्णालीवासीको बिजुलीको सपना पूरा गर्ने दायित्वलाई सरकारले पनि विशेष प्राथमिकतामा राखेको छ । वन क्षेत्रको जग्गा प्राप्ति र रुख कटानको विषयलाई समाधान गर्न उच्चस्तरीय राजनीतिक निणर्य नै गर्नुपर्ने आवश्यकता देखिएको छ ।

कर्णाली प्रदेशका कूल तीन लाख ४७ हजार ९३६ घरमध्ये हालसम्म ४३.८७ प्रतिशतमा मात्रै बिजुली उपलब्ध भएको छ । पश्चिम रुकुम ७५.०२, सल्यानमा ५२.८८ प्रतिशत घरमा विद्युतीकरण हुँदा मुगुमा १९.६४, जाजरकोटमा १६.१५, जुम्लामा १९.३० प्रतिशतमा सीमित छ । विवरणअनुसार सुर्खेतका तीन, दैलेखका तीन, जाजरकोटका चार, डोल्पाका छ, जुम्लाका पाँच, कालीकोटको एक, मुगुका तीन र हुम्लाका चार स्थानीय तहमा बिजुली उपलब्ध हुन सकेको छैन ।

सुदूरपश्चिम प्रदेशका कूल नौ जिल्लाका पाँच लाख ४७ हजार ६७१ घरमध्ये हालसम्म ७१.०७ प्रतिशतमा बिजुली केन्द्रीय प्रसारण लाइन पुगेको छ । त्यसमा बाजुरा १३.४४, बझाङ २१.५८, दार्चुला ४०.५८, बैतडी ३४.३६ र अछाममा ४५.३५ प्रतिशतमा बिजुली उपलब्ध छ । बाजुराको पाँच, बझाङको एक, अछामका दुई, बैतडीका तीन र दार्चुलाका दुई स्थानीय तह अझै पनि बिजुलीको पहुँचबाट टाढा छन् ।


क्लिकमान्डु