यसरी सुरक्षित तरिकाले प्रयोग गर्नुस् इन्डक्सन



काठमाडौं । पछिल्ला दिनमा सरकारले बिजुलीको खपतका लागि भन्दै इन्डक्सन चुल्होको प्रयोग गर्न आम नागरिकलाई आग्रह गरेको छ ।
बिजुलीको खपत बढाउनका लागि इन्डक्सनको प्रयोग बढाउनुपर्ने माग र दबाब पनि उत्तिकै छ ।

अघिल्लो आलेखमा कस्ता इन्डक्सन चुल्हो प्रयोग गर्ने र त्यसको बजार मूल्य कतिसम्म पर्न सक्छ भन्ने बारेमा जानकारी दिने प्रयास गरिएको थियो । यो आलेखमा भने सुरक्षित तरिकाले कसरी इन्डक्सन प्रयोग गर्ने भन्ने बारेमा जानकारी दिने प्रयास गरिएको छ ।

सामान्य विषयमा जानकारी नहुँदासमेत इन्डक्सन बिग्रन सक्छ । तपाईंले लगानी गरेको मोटो रकम व्यर्थ हुन सक्छ । त्यसकारण सुरक्षित तरिकाले इन्डक्सन हिटरको प्रयोग गर्ने उपायको बारेमा जानकारी राख्नुपर्छ ।

विद्युतीय सामग्री भएकाले जोखिम पनि उत्तिकै हुन्छ । करेन्ट सर्ट भयो भने वा कुनै आगलागी भयो भने ठूलो धनमालको क्षति हुनसक्छ । यो विषयलाई ख्यालमा राखेर इन्डक्सनको प्रयोग गर्नुपर्छ ।

अधिकतम २२०० वाटसम्मका इन्डक्सन बजारमा पाइन्छन् । संसारभर नै यसको प्रयोगमा वृद्धि भएको छ । नेपालमा पनि बिस्तारै यसको प्रयोग बढ्न थालेको छ ।

नेपालमा खासगरी भारतको नाकाबन्दीको समयपछि मानिसहरुमा इन्डक्सनको प्रयोग गर्नुपर्छ भन्ने सोचको विकास भएको पाइन्छ ।

एक अनौपचारिक अध्ययन अनुसार काठमाडौं उपत्यकाको प्रत्येक १० घरमध्ये १ घरमा इन्डक्सनको प्रयोग हुने गरेको छ । सहरी क्षेत्रका मानिसले यसको बारेमा जानकारी लिएका छन् । केही प्रयोग गर्ने सोचमा छन् । हाल जनगणना जारी छ ।

जनगणनामा विद्युतीय सामग्रीको प्रयोगका बारेमा पनि प्रश्न भएकाले त्यसको बारेमा क्रमशः तथ्यांक आउने नै छ । अब लागौ, कसरी सुरक्षित तरिकाले इन्डक्सन चुल्होको प्रयोग गर्ने भन्ने तर्फ ।

इन्डक्सन के हो पहिले बुझौं
इन्डक्सन चुल्हो, एउटा विद्युतीय सामग्री हो । बिजुलीबाट चल्ने यो सामग्रीलाई सजिलो र सरल उपकरणको रुपमा यसलाई लिइन्छ । यो विशेषगरी म्याग्नेटिक प्रणालीबाट चल्छ ।

ताप सबैतिर फैलने भएकाले यसको प्रयोगबाट खाना छिटो पाक्छ । त्यही भएर यसको सुरक्षामा विशेष ध्यान दिन जरुरी छ । तपाईंको घरमा प्रयोग भएको फ्यूज के कति क्षमताको हो त्यसमा विशेष ध्यान दिनुुस् । सामान्यता इन्डक्सन चुल्हो चलाउनका लागि १५ एम्पियरभन्दा माथिको फ्यूज आवश्यक हुन्छ ।

तपाईंको बाइरिङ सिस्टम पनि बलियो हुनुपर्छ । झिना तार होइन मोटा तार प्रयोग भएको हुनुपर्छ । त्यसो भएको खण्डमा सहज रुपमा विद्युतीय सामग्री प्रयोग गर्न सकिन्छ ।

इन्डक्सन चुल्हो सामान्यतया बढी बिजुली खपत गर्ने सामग्री भएकाले यसमा ध्यान दिनु जरुरी हुन्छ । कमजोर वाइरिङ हुँदा आगलागी हुने सम्भवना रहन्छ ।

इन्डक्सन चुल्होको केबल जोड्ने पोर्ट र प्लग
इन्डक्सन चुल्होको केवल जोड्ने प्लग तीनमुखे हुनुपर्छ । अधिकांशकोमा दुईमुखे प्लग राखिएको हुन्छ । तपाईंको भान्छामा इन्डक्सन चुल्हो जोडनका लागि तीनमुखे प्लग हुँदा सबैभन्दा राम्रो हुन्छ । त्यसले लगातार एकै प्रकारको बिजुली उपलब्ध गराउँछ र सुरक्षाका लागि पनि राम्रो मानिन्छ । अन्यथा पोर्ट जल्ने एवम् आगलगी हुने खतरा रहन्छ ।

पोर्ट र प्यानलाई स्मुथ राख्नुस
जानकारहरुका अनुसार पोर्ट र प्यान असाध्यै नरम हुनुपर्छ । त्यसमा कुनै पनि प्रकारको फोहोर र कण हुनुहुँदैन । पानी परेको हुनुहुँदैन । विशेष गरी खाना पकाउँदा वाफबाट पानी बन्ने, पानी पोखिने यस्तै यस्तै अवस्था पनि आउन सक्छ । त्यसकारण प्यानलाई स्मुथ राख्नु नै पहिले कर्तव्य हो । यसले तपाईंको इन्डक्सनको आयु बढाउन सक्छ । प्यान एउटा बलियो सिसाले बनेको हुन्छ । भएपनि त्यसको सुरक्षामा विशेष ध्यान दिनु पर्छ । तपाईले प्रयोग गरेपछि प्यानको सिसालाई राम्रैसँग पुछेर ओभानो बनाउनुपर्छ ।

कस्तो ठाँउमा इन्डक्सन राख्दै हुनुहुन्छ ?
अर्को महत्वपूर्ण कुरा तपाईंले इन्डक्सन कस्तो स्थानमा राख्नु भएको छ । त्यो महत्वपूर्ण कुरा हो । इन्डक्सनको तल्लो पट्टी एउटा पंखा हुन्छ । तपाईंले पानी भएको वा फोहोर भएको ठाँउमा इन्डक्सन राख्नुहुन्छ भने त्यो पंखाले फोहोर वा धुलो तानेर लैजान्छ । त्यसबाट पंखाको सुरक्षाका लागि पनि इन्डक्सन राख्ने स्थान सफा हुनुपर्छ । त्यहाँ कुनै पनि प्रकारको फोहोर हुनुहुन्न ।

बेला बेलामा पंखामा फोहोर छ कि छैन भनेर पनि हेर्नुपर्छ । कुनै पनि धुलो पर्नबाट जोगाउनु जरुरी छ । इन्डक्सन राख्ने टेवल वा किचनलाई विशेष सावधानी पूर्वक सफा गरेर राख्नुपर्छ । त्यसो भएको खण्डमा तपाईको इन्डक्सनले लामो समयसम्म राम्रो काम गर्छ ।

राम्रो क्लिनर प्रयोग गर्नुस्
इन्डक्सन विद्युतीय सामग्री भएकाले यसको सफाई गर्दा पनि विशेष ध्यान दिनुपर्छ । पानी सकेसम्म नपानुस् । त्यसमा विशेष ध्यान दिनु आवश्यक छ । त्यसमा रहेको सिसा बलियो भएपनि सफाईमा ध्यान नदिँदा चाँडै बिग्रने सम्भवना रहन्छ । सफा गर्दा स्मुथ खालको कपडा वा पयाडको प्रयोग गर्नुस् । तपाईले इन्डक्सन प्रयोग गरिसकेपछि माथिल्लो भागलाई सफा कपडाले छापेर राख्नुस ।

पहिले इन्डक्सन बन्द गर्नुस् अनि प्लग
अधिकांश मानिसले चलिरहेको इन्डक्सन नै बन्द नगरी प्लगबाट तार तान्ने गरेको पाइन्छ । इन्डक्सनको हकमा कहिल्यै पनि त्यसो नगर्नुस् । किनकी प्रयोगमा रहेको इन्डक्सनको तल्लो पट्टी रहेको पंखा चलीरहेको हुन्छ । तपाईले कुनै भाडा राख्दा ताप दिए जस्तै इन्डक्सनको पंखा चलिरहेको हुन्छ ।

प्यान नजिकै रहेको बटममा इन्क्सन बन्द गर्ने बटन पनि रहेको हुन्छ । तपाईंले कुनै पनि खाना पकाइसकेपछि त्यो बटन बन्द गर्नुस् । तल्लो पट्टी रहेको पंखा बन्द भएको छ कि छैन, हेरेर मात्रै प्लगबाट केवल झिक्नुस् । यसो भए मात्र तपाईंको इन्डक्सन सुरक्षित हुन सक्छ ।

प्यानको सुरक्षाका लागि रिङ प्लेट
विशेष गरी चिया पकाउँदा वा दुध तताउँदा उम्लने सम्भावना बढी रहन्छ । त्यस्तो अवस्थामा इन्डक्सनको सुरक्षाका लागि रिङ प्लेट राख्नुस् । यसबाट इन्डक्सनमा क्षति पुग्ने सम्भवना कम रहन्छ । विशेष प्रकारको रिङले त्यसको सुरक्षा गर्छ । रिङले इन्डक्सन हवको शिशालाई समेत सुरक्षित राख्छ ।

वाफ चुहिने भाडोको प्रयोग नगर्नु नै उत्तम हुन्छ । त्यसका लागि जाली भएको वाफ नचुहिने कभरको प्रयोग गर्न सकिन्छ । यो विवरण तपाईंको सामान्य जानकारीका लागि मात्रै हो । तपाईंले कसरी सुरक्षित तरिकाले इन्डक्सनको प्रयोग गर्नुहुन्छ भन्ने कुरा तपाईंमै निर्भर रहेको छ ।

विभिन्न एजेन्सी र प्रयोगकर्ताको अनुभवका आधारमा


क्लिकमान्डु