दैनिक १० करोडको मोटरसाइकल आयात



काठमाडौं । कोरोना भाइरस महामारीका कारण मोटरसाइकल उत्पादन तथा आयातमा निकै प्रभाव परेको थियो ।

बजारमा मोटरसाइकलको उच्च माग रहेको अवस्थामा पनि आयात गर्न सकेको थिएन । तर, कोरोनाको जोखिम कम भएसँगै मोटरसाइकलको आयात लयमा फर्किएको छ ।

सामान्य अवस्थामा मासिक ३० हजारभन्दा बढी मोटरसाइकल आयात हुने गर्दथ्यो । तर, कोरोना भाइरस महामारीका कारण अवस्था सामान्य नहुँदा मोटरसाइकलको आयात सुस्ताएको थियो ।

कोरोना महामारीका कारण लामो समय निषेधाज्ञा तथा लकडाउनका कारण सप्लाई चेन नमिल्दा बजारमा उत्पादन तथा कच्चा पदार्थमा समस्या उत्पन्नन भएको थियो ।

नेपालले अधिकांश मोटरसाइकल तेस्रो मुलुकबाट आयात गरी बजारको आपूर्ति धान्दै आएका छन् । नेपालमा मोटरसाइकलको पाटपूर्जा एसेम्बलिङ गरी उत्पादन गर्ने दुई मात्रा कम्पनी मात्रै छन् । उक्त दुई कम्पनीले उत्पादन गरे पनि अधिकांश मोटरसाइकल आयात गरी बजारमा खपत गरिरहेका छन् ।

चालु आर्थिक वर्ष २०७८/७९ को भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने उल्लेख्य रुपमा मोटरसाइकल आयात भएको देखिन्छ । चालु आवको तीन महिनाको अवधिमा नेपालले साढे ९ अर्ब बढी रकमको मोटरसाइकल आयात गरेको देखिन्छ ।

चालु आवको असारमसान्तदेखि असोजसम्ममा नेपालले ९ अर्ब ६१ करोड ३० लाख रुपैयाँ बराबरको १ लाख ३ हजार २७ वटा मोटरसाइकल आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

मोटरसाइकलबाट नेपालले ९ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । उक्त तीन महिनाको अवधिमा आयात भएको मोटरसाइकलको आयात कोरोना अघिको अवस्थामा फर्किएको छ ।

गत वर्ष कोरोना महामारीका कारण आयात निकै सुस्ताएको थियो । सोही अवधिमा नेपालले ६ अर्ब ५० करोड २० लाख रुपैयाँ बराबरको ७० हजार २ सय ६० वटा मात्रै मोटरसाइकल आयात गरेको थियो । उक्त आयातित मोटरसाइकलबाट सरकारले सो वर्ष ६ अर्ब ६१ करोड भन्सार महसुल संकलन गरेको थियो ।

गत वर्ष कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि लागू गरिएको निषेधाज्ञा तथा लकडाउनका कारण आयातमा कम भएको अटोमोबाइल एशोसिएसनका अध्यक्ष कृष्ण दुलाल बताउँछन् ।

कोरोनाले सो समयमा आयातमा प्रभाव परेपनि निषेधाज्ञा खुकुलो भएसँगै उच्च आयात भएको उनको भनाइ छ । उनकाअनुसार कोरोनाका कारण बजारमा आयात गर्न नसकेपनि पछिल्ला दिनहरूमा भने करिब ४० प्रतिशतले व्यापार बढेको छ ।

‘कोरोनाले पहिलो वर्ष निकै प्रभाव पार्दा निकै कम आयात भएको थियो । करिब ६,७ वर्षदेखि मोटरसाइकलको आयात घट्दो क्रममा थियो । तर, कोरोनापछि भने अटोमोबाइलको आयातमा ७० प्रतिशत बढेको छ,’ उनले भने । साथै, यो वर्ष आयात अझै बढ्न सक्ने उनको अनुमान छ ।

गत वर्ष नेपालले ३२ अर्ब ९४ करोड ८६ लाख रुपैयाँ बराबरको ३ लाख ५३ हजार ५ सय ३४ मोटरसाइकल आयात गरेको थियो । जसबाट नेपालले ३३ अर्ब ४८ करोड ९७ लाख रुपैयाँ बराबरको भन्सार महसुल संकलन गरेको थियो ।

त्यसैगरी भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७६÷७७ को तीन महिनाको अवधिमा ९ अर्ब ४ करोड ७४ लाख रुपैयाँ बराबरको १ लाख ४ हजार वटा र आव २०७५÷७६ को सोही अवधिमा ८ अर्ब ४६ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख २ सय मोटरसाइकल आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । जसमा कोरोना महामारीको जोखिम कम भएसँगै आयात सामान्य अवस्थामा फर्किएको छ ।


क्लिकमान्डु