भारत, बंगलादेश लगायतका देशलाई विद्युत बिक्री गर्न बाटो खुल्यो, अब व्यापार घाटामा सुधार आउँछः मन्त्री भुसाल



काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्रीको बाटो खुलेको बताएकी छिन् ।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत व्यापार शुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढीरहेको बताइन् । उनले भारतमा विद्युत व्यापारको शुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यापार दक्षिण एशियाकै पहिलो भएको धारणा राखिन् । मन्त्री भुसालका अनुसार जलविद्युत क्रमशः बढ्दै गएको आन्तरिक खपत बढाउनु पर्ने बताउँदै विद्युत व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार भएको छ ।

‘उर्जा व्यापार पहिलेदेखि नै शुरु भएको हो, तर हामीले बढी हुँदा पनि सप्लाइ गर्न सकेका थिएनौँ, अहिले भारतको सम्बन्धित निकायले हामीसँग विद्युत खरिद गर्ने सहमति गरेर सप्लाइ शुरु भइसकेको छ, त्यसैले विद्युत व्यापारको शुरुवात भएको भनेर यसलाई मान्न सकिन्छ,यस प्रकारको व्यापार दक्षिण एशियाको पहिलो हो’ उनले भनिन्, ‘हामीकहाँ क्रमशः जलविद्युत उत्पादन हुँदै गइरहेको छ, आन्तरिक खपत पनि बढाउने आवश्यक्ता छ,त्यसको पनि अध्ययन र तयारीमा छौँ, तर हामीसँग बढी नै इनर्जी हुने कुराको निर्यात गर्न सक्ने, पाउने नयाँ स्थितीमा पुगेका छौँ, यसले विद्युतको व्यापार मात्रै हुन्न, हाम्रो व्यापारको असन्तुलन छ, व्यापार घाटा बढी छ, त्यसलाई क्रमशः न्यूनिकरण गर्ने भुमिका खेल्छ, भर्खर हामीले भारतमा विद्युत व्यापार शुरु गरेका छौँ, बंगलादेश भारत भएर जाने हो, त्यसैले हामीलाई त्रिपक्षिय सम्झौता हुनुपर्छ, त्यो सम्पन्न हुन पनि सकारात्मक वातावरण बन्दै गएको छ ।’

मन्त्री भुसालले भान्सामा प्रयोग हुने एलपी ग्याँस लगायतका उर्जाहरुलाई विद्युतले बिस्थापित गर्न सके देशको व्यापार घाटा कम हुने बताइन् । उनले नेपाल कृषि प्रधान देश भएकोले सतह सिँचाइ, ग्राउण्ड वाटर, वा लिफ्ट सिँचाइ गरेर खेतीयोग्य जमीनमा सिँचाइ पुर्याउने धारणा राखिन् । मन्त्री भुसालले उद्योगहरुलाई अब चाहिए जति विद्युत दिनसक्ने बताउँदै उर्जा खपत गर्ने उद्योगलाई नयाँ सोचका साथ अघि आउन आग्रह गरिन् । उनले आन्तरिक खपतको लागि विद्युत महशुल घटाएको जानकारी गराइन् ।

‘पहिला आन्तरिक खपतको निम्ति सहज होस् भनेर विद्युतको महशुल नै घटाएँ, अब घर भान्सामा प्रयोग हुने उर्जामा अब जलविद्युत मात्रै हुनसक्छ, एलपी ग्याँस लगायतका उर्जा भन्दा यो सस्तो छ, त्यसैले होल डोमेस्टिक कन्जम्सनमा खास गरेर एलपी ग्याँस प्रयोग भएको छ, त्यसलाई बिस्थापित गर्नका निम्ति यसले मद्दत गर्नेछ, कृषिप्रदान देश तर हामी मौसममा भर पर्ने गरेका छौँ, सबै खेतीयोग्य जमीनमा सिँचाइ छैन, त्यसैले जहाँ खेतीयोग्य जमीन त्यहाँ सिँचाइ पुर्याउने नीति छ, सतह सिँचाइ, ग्राउण्ड वाटर, वा लिफ्ट सिँचाइ गरेर पनि हामी सिँचाइमा पुर्याउँदै छौँ’ उनले भनिन्, ‘त्यसको निम्ति मैले विद्युत महशुल एकदमै न्यून गरेको छु, क्रमशः यसलाई निःशुल्क बनाउने सोचमा रहेको जानकारी गराउँछु, यसले कृषिको उत्पादन र उत्पादकत्व पनि बढाउनेछ, विद्युतको खपत पनि हुनेछ र अहिले डिजेल, पेट्रोलबाट पम्पसेट चलाएर सिँचाइ गर्ने चलनलाई यसले बिस्थापित गर्नेछ, उद्योगले भनेजति जलविद्युत पाउनुभएको थिएन, अब हामी जसले जति माग्छ पर्याप्त दिन तयार छौँ ।

हामीकहाँ सञ्चालनमा रहेका पूर्ण रूपमा चल्न पाउने,उर्जा खपत गर्ने खालका उद्योग छन् भने नयाँ ढंगले आउनका लागि अपील गर्दछु, हामीकहाँ सञ्चालनमा रहेका यातयातका साधनहरुलाई अब विद्युतिकरण गर्ने कुरा अर्को महत्वपूर्ण कुरा हो,अहिले विद्युतिय यातयातका साधनमा लागेको भन्सार दरलाई पनि न्युनिकरण गरेर अब खरिद गर्ने गाडी विद्युतिय गाडीलाई प्रोत्साहन दिने र तिनीहरुका निम्ति आवश्यक पर्ने चार्जिङ लगायतका भौतिक संरचना, छिटो भन्दा छिटो सरकारले बनाउने कुरामा विद्युतको एउटा ठूलो खपत यातायातमा हुनेछ, उद्योगमा हुनेछ, कृषि र सिँचाइमा हुनेछ, आन्तरिक खपतबाट अघि बढ्नेछ, यसले अन्तिममा पेट्रोलियम पदार्थ, एलपी ग्याँस लगायतलाई बिस्थापित गर्न सक्दा व्यापार घाटालाई सकारात्मक ढंगले सन्तुलनमा ल्याउने माध्यम बन्नेछ ।’

मन्त्री भुसालले अब सवारी साधन खरिद गर्दा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन दिइने बताउँदै पेट्रोलियम पदार्थ र एलपी ग्याँसलाई बिस्थापित गर्न सके नेपालको व्यापार घाटामा सुधार हुने बताइन् ।


क्लिकमान्डु