टर्कीपालनबाट मासिक डेढ लाख आम्दानी



पालुङटार । गोरखाको पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी गरेका छन् । विगत १३ वर्ष साउदी अरबको अल्मराई कम्पनीमा काम गर्नुभएका पालुङटार नगरपालिका–४ का ४० वर्षीय जीवमनि लुइँटेलले विसं २०७६ मा नेपाल फर्केसँगै टर्कीपालन शुरुवात गरेका हुन् ।    
    
सो कम्पनीमा नौ हजार ५०० रियल अर्थात् नेपाली झण्डै ३ लाख रुपै‍याँ मासिक कमाई गर्दै आएका उनले विसं २०७७ वैशाखदेखि पालुङटारस्थित आफ्नै घरमा आएर टर्कीपालन व्यवसाय शुरु गरेका हुन् ।

‘मैले अल्मराई कम्पनीमा सँगै कार्यरत साथी मिठु सार्कीलाई भैरहवामा भेट्न जाँदा सार्कीको घरनजिक टर्कीपालन गरेको देखेँ, त्यहाँ टर्कीपालन गरेको देखेर मैले पनि केही गर्नुपर्छ भनेर त्यहाँको अनुभवलाई पालुङटारमा ल्याएर प्रयोग गरे‌.’ उनले भने ।     
    
शुरुआती चरणमा ७० लाख रुपैयाँ लगानी गरेर टर्कीपालन शुरु गरेका लुइँटेलले अहिले मासिक १ लाख ५० हजार आम्दानी गर्दै आएका छन् ।

उनले एकपटकमा एक हजार टर्कीपालन गर्नसक्ने गरी खोर निर्माण गरेका छन् । केही समय पहिले ९०० टर्कीपालन गरेका लुइँटेलसँग हाल ३०० टर्की छन् । लुइँटेलले पालन गरेकाे टर्की बिक्रीका लागि मुख्य बजार भने काठमाडाै‌ हो ।

यसका अलावा चितवन, पोखरा र स्थानीय पालुङटारमा पनि टर्कीको मासु खपत हुँदै आएको छ ।

‘हप्तामा ५० किलो काठमाडौँ, २० किलो पोखरा र २५ किलो चितवनको नारायणगढ बजारमा टर्की बिक्री हुँदै आएको छ,’ उनले भने ।
    
डेढ वर्षदेखि टर्कीपालन गर्दै आएका उनले एउटा टर्की १५ किलोसम्म बनाएका छन् । उनले टर्कीको मासु एक किलोको १ हजार रुपैयाँमा बिक्री वितरण गर्दै आएको बताए । टर्कीपालनका सिलसिलामा लुइँटेलले तीन जनालाई रोजगारीसमेत प्रदान गरेका छन् । टर्कीका लागि मुख्य आहार भनेको दाना नै हो ।    
    
श्रीमती ज्ञानु लुइँटेललाई समेत शिक्षकको जागिरबाट अलग गरी व्यवसायमा लगाएका जीवमनिले हाल आफैं गाडी किनेर टर्कीको मासु काठमाडौँ, पोखरा, नारायणगढसम्म पुर्याउँदै आएका छन् ।

‘परिवारसँगै घरमा बसेर आफ्नै जन्मथलोमा पौरख गरेर यती कमाएकामा मलाई पूर्णरूपमा आत्मासन्तुष्टि मिलेको छ,’ उनले भने ।  
 


क्लिकमान्डु