१४ वटा ट्यांकरको पानी मात्र पिउन सुरक्षित, २ सय ३८ खानेपानी ट्यांकरमा स्टिकर टाँस



 

काठमाडौं । काठमाडौं खानेपानी व्यवस्था वोर्डले खानेपानी ढुवानी गर्ने ट्यांकरमा २ सय ३८ स्टिकर टाँसेको छ । खानेपानी व्यवस्था वोर्डले पानी ट्यांकरले बोक्ने पानीको गुणस्तरका आधारमा विभिन्न रंगका स्टिकर टाँसेको हो ।

बोर्डकाअनुसार केबल १४ वटा ट्यांकरको पानी मात्र सिधै पिउन योग्य रहेको छ । जसअनुसार हालसम्म वोर्डले १४ वटा निलो स्टिकर, १ सय ७७ हरियो स्टिकर र ४७ वटा पहेलो स्टिकर टाँसेको जनाएको छ ।

हालसम्म गोदावरी, चोभार र सितापाईला क्षेत्रका २ सय ३८ वटा ट्यांकरमा स्टिकर टाँसेको जानकारी दिएको छ ।

स्टिकरले के संकेत गर्छ ?

निलो स्टिकर

फिजिकल, केमिकल र बायोलोजिकल परीक्षणमा शुद्ध पानी वितरण गर्नेले निलो स्टिकर पाउँछन् । निलो स्टिकर भएको ट्यांकरको पानी सीधै पिउन सकिन्छ ।

पहेंलो स्टिकर

फिजिकल र केमिकल परीक्षणमा सामान्य रहेको तर माइक्रोबायोलोजिकल परीक्षणमा गुणस्तरीय नदेखिएको पानी विक्री गर्ने ट्यांकरहरुले पहेंलो स्टिकर पाउँछन् । पहेंलो स्टिकर भएको ट्यांकरको पानी उमालेरमात्रै पिउनुपर्ने हुन्छ ।

हरियो स्टिकर

माइक्रो बायोलाजिकल परीक्षणमा सामान्य देखिने तर फिजिकल र केमिकल जाँचमा खरावी भेटिएको पानी बेच्ने ट्यांकरले हरियो स्टिकर पाउँछन् । हरियो स्टिकर भएको ट्यांकरको पानी पिउन बाहेकका अन्य प्रायोजनका लागि प्रयोग गर्न सकिन्छ । यो पानी पिउन उपयुक्त हुँदैन ।

खानेपानी ट्यांकरले कुनै परीक्षण बिनाको असुरक्षित पानी बेच्ने गरेको जनगुनासो अधिक आउन थालेपछि खानेपानी बोर्डले पानीको गुणस्तरका आधारमा ट्यांकरमा स्टिकर टाँस्न थालेको हो ।


क्लिकमान्डु