सेयर बजार बियरिस ट्रेन्डमा, नेप्से ७ महिना यताकै सबैभन्दा तल
काठमाडौं । २ महिनाअघि हालसम्म कै उच्च विन्दु करिब ३२ सय छोएको नेप्से परिसूचक यतिबेला ७ महिना अघिको अवस्थामा झरेको छ । नेप्सेको यो ओरालो यात्राले बजारमा बियरिस ट्रेन्ड शुरु भएको आँकलन गरिएको छ ।
गत मार्च १७ तारिखमा नेप्से २४३२.१५ अंकमा थियो भने त्यसयता उचारचढाव हुँदै ३१९९ अंकसम्म पुगेको थियो । तर अक्टोबर १९ तारिखका दिन पौने २ बजेसम्म १ सयभन्दा बढी अंकले घटेर परिसूचक २४८६ अंकमा झरिसकेको छ ।
अहिले अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । नेप्से उच्च विन्दुमा हुँदा दैनिक २१ अर्ब रुपैयाँसम्म कारोबार हुँदै आएकोमा अहिले औसत २ अर्बमा सीमित भएको छ । त्यसैगरी बजार पुँजीकरण पनि करिब ९ खर्ब रुपैयाँ कम भइसकेको छ ।
सेयर बजारमा विभिन्न कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा बढेको भन्दै सेबोनले सूची प्रकाशित गर्नु, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् ४/१२ को नयाँ नियम लागू गर्नु तथा बैंकहरुले निक्षेपमा युद्धस्तरमा ब्याजदर वृद्धि गर्नाले लगानीकर्ताहरु बजारबाट बाहिरिन लागेको जानकारहरुको तर्क छ ।