दशैं र तिहारमा कनेक्ट आइपीएसको मोबाइल एपबाट रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने

161
Shares

काठमाडौं । कनेक्ट आइपीएसले दशैं र तिहार जस्ता चाडपर्वको अवसरमा मोबाइलबाट हुने कारोबारमा सेवा शुल्क नलिने भएको छ ।

कागजी नोटको प्रयोगलाई कम गर्न तथा मोबाइलबाट गरिने फण्ड ट्रान्स्फरलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कनेक्ट आइपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा रहेको कनेक्ट आइपीएस फण्ड ट्रान्स्फर तथा कनेक्ट आइपीएसमार्फत् मोबाइल वालेटमा गरिने फण्ड लोडलाई असोज २० गतेदेखि कात्तिक २५ गतेसम्म पूर्णरुपमा नि:शुल्क गरिएको हो ।

कनेक्ट आइपीएसको बढ्दो प्रयोग तथा मोबाइलबाट गरिने बैंक खातामा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रवर्धन गर्न उक्त अवधिमा कारोबार शुल्क पूर्णरुपमा मिनाह गरिएको हो ।

फण्ड ट्रान्स्फर लगायत अन्य विभिन्न भुक्तानी एकै प्ल्याट्फर्मबाट गर्न सकिने यस कनेक्ट आइपीएसले गत आर्थिक वर्षमा १३.६ खर्ब रुपैयाँ बराबरको १ करोड ८९ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको थियो भने चालू आर्थिक वर्ष (भाद्र मसान्तसम्म) मा ४.५ खर्ब बराबरको ६२ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरिसकेको छ ।

हाल यस प्रणालीमा जम्मा ५४ बैंक वित्तीय संस्थाहरु आबद्ध रहेका छन् ।

१४ भन्दा बढी डिजिटल वालेटका प्रयोगकर्ताले पनि कनेक्ट आइपीएसमार्फत् सोझै बैंक खाताबाट फण्ड लोड गर्न सक्दछन् ।

कनेक्ट आइपीएसको मोबाइल एपमार्फत् प्रतिकारोबार १ लाख रुपैयाँ तथा प्रतिदिन २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ ।

साथै, मोबाइल बैंकिङ्गबाट फण्ड ट्रान्स्फरमा भने बैंक वित्तीय संस्थाले ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म कारोबार सीमा प्रदान गरेको छ ।