बढी मूल्यमा सामान बिक्री गर्ने भाटभटेनी सुपरमार्केटलाई ५० हजार जरिवाना



काठमाडौं । विभिन्न खाद्यान्ना सामग्री अस्वभाविक महंगो मूल्यमा बिक्री गर्ने भाटभटेनी सुपरमार्केटलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबार गरेको अनुगमनमा बढी मूल्यमा सामान बिक्री गर्ने भाटभटेनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको भक्तपुर जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी मुकेश प्रसाद केशरीले जानकारी दिए ।

‘बिहीबारदेखि बजार अनुगमन शुरु गरेका हौं, जसमा भक्तपुरस्थित भाटभटेनी सुपरमार्केटले खाद्यान्नको मूल्य बढी राखेको पाएपछि जरिवाना गरिएको हो,’ उनले भने ।

उनका अनुसार भाटभटेनी सुपरमार्केटमा पानीको मूल्य अस्वभाविक रुपमा बढी राखिएको थियो । साथै आलुलगायतका खाद्यान्नको तौलमा पनि मिलेको नदेखिएको केशरीको भनाइ छ ।

‘अनुगमनका क्रममा भाटभटेनी पुगेर खरिद बिल माग गर्दा शुरुमा दिन सक्नु भएन, पछि उपलब्ध गराएको बिलामा अस्वभाविक मूल्य बढाएर बिक्री गरेको पाइएकाले जरिवाना गरिएको हो,’ उनले भने ।


क्लिकमान्डु