ओटीटी एप, वेव ब्राउजिङ बन्द गर्न केबल व्यवसायीको माग, दिए व्यवसाय बन्द गर्ने चेतावनी



काठमाडौं । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले ओटीटी एप, वेव ब्राउजिङ, आइपीटीभी र भीओडीलगायतको प्रसारण रोक्न माग गर्दैै सूचना विभागमा उजुरी दिएको छ ।

महासंघले कार्यक्रम प्रसारणको अनुमति नै नलिइ विज्ञापन गरिरहेकाले कानूनको पालना नगरेको भन्दै प्रसारण रोक्न माग गर्दै उजुरी गरेको हो ।

गैरकानूनी प्रसारण तथा कानूनको यथोचित परिपालना नभइदिँदा सम्पूर्ण केवल टेलिभिजन व्यवसाय बन्द हुने अवस्था आएको भन्दै अविलम्ब बन्द गराइ कारबाही गर्न माग गरेको छ । साथै क्लिनफिड सम्बन्धी सुझावलगायतका विषयमा समेत लिखित जानकारी माग समेत गरेको छ ।

महासंघले यस व्यवसायलाई नै धरासायी बनाउने नियत राखी नेपाल विद्युत् प्राधिकरणले साविकको तुलनामा अस्वभाविक रुपमा पोलको भाडा बढाएको भन्दै रद्द गर्न समेत माग गरेको छ ।

महासंघले आफ्ना माग २४ घण्टाभित्र पूरा नगरे व्यवसाय नै बन्द गर्ने समेत चेतावनी दिएको छ ।


क्लिकमान्डु