एडीबीको प्रक्षेपण, यो वर्षको आर्थिक वृद्धिदर ४.१%



काठमाडौं । एसियाली विकास बैंकले नेपालको यो वर्षको आर्थिक वृद्धिदर ४.१ प्रतिशतसम्म हुने प्रक्षेपण गरेको छ ।

नेपाल सरकारले चालु आवको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने अनुमान गरेपछि त्यसको करिब आधा मात्रै प्राप्त हुनसक्ने एडीबीले प्रक्षेपण गरेको हो ।

नेपालको आर्थिक वृद्धिमा कोरोना विरुद्धको भ्याक्सिनले पनि ठूलो सहयोग गर्ने एडीबीले उल्लेख गरेको छ । एडीबीका कन्ट्री डाइरेक्टर अर्नौढ काचोइसले नेपालको कृषि क्षेत्रको योगदान बढ्ने अपेक्षा गरिएको बताए । साथै निर्यातमा भएको वृद्धिले पनि सहयोग पुग्ने एडीबीको अनुमान छ । साथै घरेलु उत्पादन पनि बढ्ने अनुमान गरिएको छ ।

यो वर्ष सरकारले लिएको स्वास्थ्य केन्द्रित नीतिको योगदान पनि ठूलो हुने अनुमान गरिएको छ । साथै अन्तर्राष्ट्रिय पर्यटन सन् २०२० मा ८०.८ प्रतिशतले घटेको थियो । तर यो वर्ष ट्रेकिङ रुट र खर्च पनि बढ्ने अनुमान गरिएको छ । होटल तथा रेष्टुराँ, ट्राभल र टुरिजम महामारी शुरु हुनुभन्दा अघिको समयमा फर्कने अनुमान गरिएको छ । साथै मुद्रास्फिती ५.२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु