‘सामाजिक सुरक्षा कोषमा जम्मा भएको पैसाको हिसाब योगदानकर्ताले पाउछन्’
काठमाडौं । नेपाल उद्योग परिसंघ रोजगारदाता परिषद र प्रदेश नम्बर १ उद्योग परिसंघले सामाजिक सुरक्षा कोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको विषयमा छलफल गरेका छन् ।
योगदानमा सामाजिक सुरक्षा कार्यक्रमको विषयमा कर्मचारी, ट्रेड युनियनका पदाधिकारीबीचमा अन्यौलता कायम रहेका बेला परिसंघले छलफल कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवालले सामाजिक सुरक्षा कार्यक्रमको विषयमा अन्यौलता कायम रहेको भन्दै त्यसमा प्रष्टता आवश्यक रहेको बताए ।
प्रदेश नम्बर १ उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेले सुमधुर औद्योगिक वातावरणका लागि सामाजिक सुरक्षाका विषयमा सबै सरोकारवालाबीच खुला छलफल हुनु आवश्यक रहेको बताए । उनले रोजगारदाता र श्रमिकबीच सुमधुर सम्बन्ध स्थापित गर्न आफूहरुले पहल गर्ने उल्लेख गरे ।
छलफलमा सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले सामाजिक सुरक्षा कोषमा आवद्ध सबै योगदानकर्ताले आफूले गरेको योगदनको हिसाब खोज्न पाउने बताए ।
रेग्मीले कोषमा आवद्ध भएका कर्मचारीहरुको दुर्घटनामा उपचारलगायतका सुविधाका लागि अस्पतालहरुसँग सहकार्य गरेर अघि बढ्न लागिएको पनि बताए ।
उनले अहिले योगदानकर्तालाई उपचारमा समस्या भएको भन्दै त्यसको समाधानका लागि काम भइरहेको पनि बताए ।
रेग्मीले २०७८ असार मसान्तभन्दा अगाडि आवद्ध भएका योगदानकर्ताले आफूले बचत गरेको सबै रकम फिर्ता लैजान पाउने बताए ।
२०७८ असारपछि आवद्ध भइ पेन्सन योजनामा सहभागी भएका बचतकर्ताले ६० वर्षपछि पेन्सन योजनाका लागि गरेको बचतबाहेक सबै रकम निकाल्न मिल्ने उनको भनाइ छ ।