विद्युतीय भुक्तानीमा उछाल, एक वर्षमा ५५ खर्बबढीको कारोबार



काठमाडौं । कोरोना महामारीका कारण लागू भएको लकडाउनका कारण पछिल्लो गत आथिर्क वर्षमा विद्युतीय भुक्तानीमा उछाल देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार विद्युतीय भुक्तानीमार्फत् कुल ५४ खर्ब ९० रुपैयाँ कारोबार भएको छ ।

पछिल्लो एक वर्षमा ई–कमर्श, क्यूआर कोड स्क्यान, वालेटको प्रयोग, कनेक्टआइपीएसको प्रयोगमा उल्लेख्य वृद्धि हुँदा कारोबार रकममा उत्साहजनक रुपमा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले नगदरहित कारोबारमा जोड दिने नीति समेत दिएको अवस्थामा विद्युतीय भुक्तानीमा उल्लेख्य वृद्धि देखिएको हो ।

तथ्यांकअनुसार सबैभन्दा बढी कनेक्ट आइपीएसबाट हुने कारोबारमा वृद्धि देखिएको छ । कनेक्ट आइपीएसबाट एक वर्षमा १४ खर्ब रुपैयाँभन्दा बढी कारोबार भएको छ । अघिल्लो आवको असार महिनामा ५१ अर्ब रुपैयाँको कारोबार भएकोमा गत आवको असार महिनासम्म आइपुग्दा यस्तो कारोबार मासिक २ खर्ब ३७ अर्ब ७५ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी क्यूआर कोड स्क्यान गरी हुने कारोबार रकम पनि एक वर्षमा २० अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको साउन महिनामा ५८ करोड ९० लाख रुपैयाँको कारोबार भएकोमा गत आवको असारमा मात्रै ३ अर्ब ६५ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी मोबाइल वालेटमार्फत् हुने कारोबार र इन्टरनेट बैंकिङमार्फत् हुने कारोबारमा पनि उल्लेख्यमात्रामा वृद्धि भएको छ ।


क्लिकमान्डु