फोहोर उठाउन बेवास्ता गरेको महानगरद्वारा कर उठाउन दिनभरी माइकिङ



काठमाडौं । सिसडोल र बञ्चरेडाँडाको ल्याण्डफिल साइट भरिएको भन्दै पछिल्लो १ हप्तादेखि फोहोर उठाउन छोडेको काठमाडौं महानगरपालिकाले कर उठाउनका लागि भने बुधबार दिनभर करदाताको घरमै गएर माइकिङ र पन्चेबाजा बजाएको छ ।

घरजग्गा र सम्पत्ति कर नबुझाउने ७ ठूला करदाताको ढोकामा पुगेर महानगरले बुधबार सेवा रोक्का गर्ने सूचनासमेत टाँसेको छ । महानगरको राजस्व विभागले भदौ २४ गतेभित्र कर नतिरे त्यसपछि सेवा रोक्का गर्ने सूचना टाँस गरेको हो ।

यसअघि कर तिर्न आउन असार १६ गते पहिलो पटक २३ व्यक्ति÷व्यवसायीको र साउन २४ गते दोस्रो पटक ५२ व्यक्ति÷व्यवसायीको नाम सार्वजनिक गरेको थियो ।

राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार नाम सार्वजनिक भएका ७५ मध्ये अहिलेसम्ममा १० जनाले आंशिक रुपमा तिरेका २ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी २० जनाले विवरणसहित कर बुझाउन आउने प्रतिवद्धता गरेका छन् । नाम सार्वजनिक भएका तर सम्पर्कमा नआउनेलाई भदौ २४ देखि प्रचलित कानुनबमोजिमको कारवाही गर्ने महानगरले जनाएको छ ।

आज सूचना टाँस भएका व्यवसायहरुमा वडा १ को कान्तिपुर होटल, वडा १३ को होटल प्लाटिनियम, वडा १७ को ह्वाइट फिल स्कूल, २२ का रञ्जना टे«ड सेन्टर, केशा प्रपर्टीज, आरवी कम्प्लेक्स र वडा ३१ को शिशु अर्याल रहेका छन् ।


क्लिकमान्डु