एअरबीएनबीले २० हजार अफगान शरणार्थीलाई निःशुल्क आवास उपलब्ध गराउने



एअरबीएनबीले २० हजार अफगान शरणार्थीलाई निःशुल्क आवास उपलब्ध गराउने भएको छ । एअरबीएनबीका संस्थापक ब्रेन चेस्कीले ट्विटमार्फत् यस्तो जानकारी दिएका हुन् ।

‘हामीलाई यो काम गर्न हाम्रा होस्टहरुको उदारताबिना सम्भव छैन, यस कार्यमा एअरबीएनबीसँगै विभिन्न एनजीओ र अन्य सहकर्मीहरुको सहयोग संलग्न हुनेछ,’ उनले भनेका छन् ।

‘अमेरिकालगायत र अन्य स्थानमा बिस्थापित भएका शरणार्थीको पुनर्वास गर्नु यस घडीमा सबैभन्दा ठूलो मानवीय संकट व्यवस्थापनमध्येको एक हो । यस्तो संकट टार्नका लागि हामीले कदम उठाउनु जरुरी छ, यो जिम्मेवारी हामीले पूरा गर्नुपर्छ,’ उनले भनेका छन् ।

एअरबीएनबीको यो अग्रसरताले नेतृत्वदायी भूमिकामा रहेका व्यवसायीहरुलाई पनि आकर्षित गर्ने र यो खेर फाल्ने समय नभएको उनको भनाइ छ ।

एअरबीएनबीले विश्वका विभिन्न देशमा अनलाइनमार्फत् कोठा तथा प्रपर्टीलाई भाडामा लगाउने काम गर्छ । जसमा व्यक्तिगत रुपमा पनि एयर बीएनबीको सहकार्यमा खाली कोठा तथा घर भाडामा लगाउन सकिन्छ । कम्पनीले भाडामा लगाउने र भाडामा कोठा लिनेसँग निश्चित प्रतिशत कमिसन लिएर काम गर्दैै आएको छ ।


क्लिकमान्डु