इजरायल रोजगारीको परीक्षा भदौ अन्तिम साता हुने



काठमाडौं । सरकारले इजरायल रोजगारीको परीक्षा भदौ अन्तिममा गर्ने भएको छ । वैदेशिक रोजगार विभागले इजरायल रोजगारीको परीक्षा भदौ अन्तिममा गर्ने तयारी गरेको हो ।

विभागका सूचना अधिकारी मेहेन्द्रनाथ भट्टराईले इजरायल रोजगारीको परीक्षा भदौ अन्तिममा गर्ने तयारी गरिरहेको बताए । उनका अनुसार हाल कोभिड महामारीको समय भएकाले विभिन्न तहमा परीक्षा सञ्चालनका लागि पत्राचार र परीक्षाको लागि आवश्यक संयन्त्रको तयारी भइरहेको छ ।

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल रोजगारीको परीक्षामा लोकसेवा आयोगको विधि अपनाउने जनाएको छ । सोहीअनुसार विभागले स्वास्थ्य मापदण्डसहित पालना गरेर परीक्षा सञ्चालन गर्ने भएको उनले जानकारी दिए ।

इजरायल रोजगारीको परीक्षा १०० पूर्णाङ्कको हुनेछ । उक्त रोजगारीका लागि इजरायल सरकारले अंगे्रजी भाषालाई प्राथमिकता दिएको छ ।

त्यसमा अग्रेजी भाषाको लिखित परीक्षाको पूर्णाङ्क ८० तोकेको छ भने ४० ल्याए उत्तीर्ण हुनसक्ने जनाएको छ । त्यस्तै दोस्रोमा बोल्ने र सुन्न सक्ने क्षमताका लागि २० अंक छुट्टाइएको छ ।

विभागले यसअघि नै रोजगारी जाने इच्छुक नेपालीहरूलाई आवेदनको खुलाएको छ । उक्त आवेदन खुलाएकोमा ९ हजार ६९९ जनाले आवेदन दिएका छन् । त्यसमध्ये आवेदन दिनेमा ५ हजार ४९९ जना पुरुष छन् भने ४ हजार २ सय महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

इजरायल सरकारले पहिलो चरणमा ‘केयर गिभर’लाई प्राथमिकतामा राखेर १ हजार श्रमिक लैजाने भएको छ । त्यसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने सरकारले जनाएको छ ।


क्लिकमान्डु