उखु किसानले तत्काल भुक्तानी नपाए आन्दोलन गर्ने
काठमाडौं । उखु किसानहरूले चिनी उद्योगलाई बेचेको उखुको रकम समयमै सम्पूर्ण भुक्तानी गर्नुपर्ने किसान संगठनहरूले माग गरेका छन् ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशिल किसान संघले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी गर्दै सम्पूर्ण भूक्तानी गर्न माग गरेका हुन् ।
संगठनले भुक्तानी नभएमा फेरि आन्दोलन गर्नुको विकल्प नभएको भन्दै चेतावनीसमेत दिएका छन् ।
उखु उत्पादक किसानलाई उखुवापतको रकम चिनी मिल तथा अन्य व्यापारीहरूले पैसा नतिर्ने, वर्षौ वर्ष झुलाएर राख्ने उद्योगी, व्यापारी र तिनको संरक्षण गर्ने राज्यका लागि राष्ट्रिय लज्जाको विषय भएको संगठनको भनाइ छ ।
‘यसअघि अनेक जालझेल र तिकडम गरेर सत्तामा टिकेको विगतको केपीओली सरकारले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउने र किसानहरूले सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने भनेर किसान संगठनहरू र उखु किसानहरूलाई झुठो आश्वासन दिए पनि वचन पूरा भएन,’ विज्ञप्तिमा उल्लेख छ ।