क्यासिनो रोयल्टीवापत १ अर्ब ८ करोड उठ्न बाँकी



काठमाडौं । देशभर सञ्चालित १५ वटा क्यासिनोबाट १ अर्ब ८ करोड रुपैयाँ बढी रोयल्टी उठ्न बाँकी रहेको देखिएको छ ।

पर्यटन विभागले असुल गर्दै आएको उक्त रोयल्टी वर्षेनी बढ्दै गएर १ अर्ब नाघेको देखिएको हो ।

महालेखा परीक्षक कार्यालयको प्र्रतिवेदनअनुसार २०७६/७७ सम्ममा उठ्न बाँकी क्यासिनो वक्यौता १ अर्ब ८ करोड ६३ लाख रुपैयाँभन्दा बढी रहेको देखिन्छ ।

क्यासिनो नियमावली २०७० मा क्यासिनो सञ्चालकले प्रत्येक वर्ष रोयल्टी रकम बुझाउनुपर्ने व्यवस्था छ । तर, क्यासिनो रोयल्टीसँग सम्बन्धित व्यवसायीको विवरण तथा रकम खुल्ने अद्यावधिक अभिलेखसमेत पर्यटन विभागसँग छैन ।

‘लेखापरीक्षणबाट संकलन गरिएको विवरणअनुसार १५ वटा क्यासिनो सञ्चालकमध्ये ५ वटा क्यासिनो सञ्चालनहरुको आर्थिक वर्ष २०७६/७७ मा मात्र २२ करोड ७२ लाख ५० हजार रुपैयाँ बराबर उठ्न बाँकी छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘उक्त रकममा लाग्ने शुल्कसमेत यकिन गरी असुल गर्नुपर्दछ ।’

अघिल्लो आर्थिक वर्षमा मात्र २२ करोड ७२ लाख रुपैयाँ बराबर रोयल्टी थपिएको छ । क्यासिनो सञ्चालकलाई कारबाहीको दायरामा ल्याउन नसक्दा विगत लामो समयदेखि विभागले यस्तो रोयल्टी संकलन गर्न सकेको छैन ।


पुष्प दुलाल