नेपाल ट्रस्टका नाममा विभिन्न वाणिज्य बैंकमा करिब १ अर्बको सेयर, २१ हजार रोपनी जग्गा



काठमाडौं । पूर्वराजा बीरेन्द्र र रानी ऐश्वर्य र उनीहरुको परिवारको देहावसान हुँदा उनीहरुको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गर्नका लागि नेपाल ट्रष्टको स्थापना गरिएको थियो ।

ट्रष्टका नाममा विभिन्न बैंकमा सेयर तथा मुलुकभर विभिन्न जिल्लामा जग्गा समेत ट्रष्ट मातहतमा ल्याइएको थियो ।

हालसम्म विभिन्न १२ वटा जिल्लामा २१ हजार ५६२ रोपनी ४ आना जग्गा ट्रष्टको स्वामित्वमा आइसकेको छ । साथै विभिन्न वाणिज्य बैंकमा ९४ करोड ९ लाख ८० हजार रुपैयाँ तथा स्टर्लिङ पाउण्ड ५० हजार ७५१ र अमेरिकी डलर १ लाख ५० हजार ११० मौज्दात छ ।

ट्रष्टको मातहतमा २०७७ पुससम्म नबिल बैंकको ५ लाख हजार २४४ कित्ता सेयर छ । जुन आजका दिनमा ८० करोड रुपैयाँ बराबरको सम्पत्ति हो । त्यसबाहेक नेपाल औद्योगिक विकास निगममा ६ हजार ७५० कित्ता र होटल डेल अन्नपूर्णमा ३० हजार २० कित्ता सेयर छ ।

ट्रष्ट अन्तर्गत रहेको कमलादीस्थित काठमाडौं प्लाजा, गोकर्ण फरेष्ट रिसोर्ट, सोल्टी होटलको आउटर कम्प्यलेक्सका लागि जग्गा लिजमा दिने, लिजको अवधि बढाउने, लिज सम्झौतालाई संशोधन गर्ने विभिन्न मितिमा निर्णय पनि भइसकेको छ ।

जसमा काठमाडौं महानगरपालिका कमलादीस्थित ५ रोपनी २ पैसा जमिनमा रहेको काठमाडौं प्लाजामा हाल काठमाडौं महानगरपालिकालाई उक्त भवन दिने निर्णय भइसकेको छ । जसका लागि महानगरपालिकाले मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा तिर्नुपर्छ । साथै ३ हजार ९७० रोपनी १ आना ३ पैसा दाममध्ये २ हजार ९७२ रोपनी ३ आना १ दाम जग्गामा गोकर्ण रिसोर्ट सञ्चालन भइरहेको छ । जसका लागि वार्षिक ५० लाख डलर भाडा बुझाउने सहमति भइसकेको छ ।

त्यसैगरी ताहाचलस्थित जग्गा ३० वर्षका लागि ५ करोड १ लाख २७ हजार रुपैयाँमा भाडामा दिइएको छ । त्यहाँ बन्ने भवन ३० वर्षपछि ट्रष्टको मातहतमा आउनेछ । जसमा १२ तले भवन निर्माण गरिनेछ ।

नेपाल ट्रष्टलाई प्राप्त हुने आम्दानी सर्वोत्तम सार्वजनिक लाभ हुने गरी शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यवसाय क्षेत्रमा प्रयोग गर्न सकने कानूनी व्यवस्था छ ।

हालसम्म ट्रष्टको कार्यालयले ९ वटा स्थानको जग्गा तथा भवनहरु लिज भाडा तथा छोटो अवधिको भाडामा लगानी गरेको छ ।


पुष्प दुलाल