साढे २ अर्बको मास्क आयात



काठमाडौं । कोरोना महामारीले गर्दा हालसम्मकै उच्च मास्क आयात भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मास्क अनिवार्य गरिएपछि मास्कको उच्च आयात भएको देखिन्छ ।

नेपालले सामान्य अवस्थाको समयमा मास्क नै आयात नगरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । तर, २०७६ सालबाट देशभव्यापी रुपमा फैलिएको कोरोनाले गर्दा सो वर्षदेखि मास्कको आयात उच्च भएको हो ।

विभागको तथ्याङ्क अनुसार नेपालले आर्थिक वर्ष २०७७/७८ मा मात्रै २ अर्ब ५० करोड ८ लाख रुपैयाँ बराबरको ३५ करोड ९८ लाख २ हजार वटा मास्क आयात गरेको छ । त्यस्तै आव २०७६/७७ मा भने नेपालले ३५ करोड ८० लाख रुपैयाँ बराबरको ७३ हजार १९९ केजी मास्क आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । जुन गत वर्ष आयात भएको मास्कको आयात हालसम्मकै उच्च हो ।


पुष्प दुलाल