आर्थिक क्षेत्रको उत्थानका लागि नयाँ रणनीति आवश्यकः उद्योग संगठन मोरङ



विराटनगर । कोरोना महामारीबाट संकटमा परेको आर्थिक क्षेत्रमा उत्थानका लागि नयाँ रणनीति आवश्यक भएको उद्योग संगठन मोरङका व्यवसायीहरुले बताएका छन् ।

बिहीबार उद्योग संगठन मोरङको आयोजना तथा नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको सहकार्यमा संकटको समयमा व्यापारको पुनःरणनीतिकरण विषयक कार्यक्रममा बोल्दै उनीहरुले आर्थिक क्षेत्रमा नयाँ रणनीतिको आवश्यकता भएको बताएका हुन् ।

कोरोना महामारीका कारण सिर्जित आर्थिक संकटले सबै क्षेत्रलाई निराश तुल्याएको समयमा उद्योगी÷व्यवसायीले आफनो व्यवस्थापकीय क्षमतालाई अभिवृद्धि गर्दै दीर्घकालीन रणनीति तर्जुमा गर्नुपर्ने बताएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताए ।

साथै, संगठनद्वारा आयोजित फरक धारको कार्यक्रमले उद्योगी व्यवसायीहरुलाई उत्प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रमका संयोजक एवं संगठनका कार्यसमिति सदस्य सौरभ सारडाले आर्थिक विकासका सुत्राधारका रुपमा रहेका उद्योगीहरुले वर्तमान समयमा सामना गरिरहेको आन्तरिक र बाह्य चुनौतीलाई मध्यनजर गरी आयोजना गरिएको यस कार्यक्रमले उद्योगीहरुलाई आगामी दिनमा आफनो कार्यदिशा, योजना र रणनीति विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको समन्वयकर्ता संस्था फेक्ट नेपालका कार्यकारी निर्देशक मनिष झाले कोरोना महामारीका कारण बहुराष्ट्रिय कम्पनीहरु समेत आफ्नो व्यावसायीक रणनीतिलाई पुनःसमीक्षा गर्न बाध्य भएको उदाहरण प्रस्तुत गर्दै उद्योगीले अबका दिनमा एउटा मात्रै व्यवसायीक योजनामा सीमित नभई अन्य विकल्पलाई समेत जोड दिनुपर्ने बताए ।


क्लिकमान्डु