सिसिडी खारेजीले सिर्जना गरेको समस्या समाधान हुन्छः अर्थमन्त्री



काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले बुधवार अर्थमन्त्री जनार्दन शर्मालाई मन्त्रालयमा भेटेर सुझावपत्र हस्तान्तरण गरेको छ ।

यस्तै अर्थतन्त्रलाई चलायमान बनाउदै राजगारी एवं स्वरोजगारीको बृद्धि गर्न नयाँ एवं विद्यमान साना तथा मझौला उद्योगहरुलाई परियोजना धितोमा पाँच करोडसम्म ऋण उपलब्ध गराउन च्यालेन्ज फण्डको व्यवस्था गरिनुपर्ने, स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि स्वदेशमै उत्पादन हुने वस्तुको आयात निरुत्साहन गर्नुपर्ने साथै स्वदेशमा उत्पादन हुने वस्तुले पालना गर्नुपने मापदण्ड र गुणस्तरका प्रावधान आयात हुने सम्पूर्ण वस्तुमा अनिवार्य लागू गरिनुपर्नेलगायतका सुझावहरु समेटिएका छन् ।

सुझावपत्र ग्रहण गर्दै अर्थमन्त्री शर्माले सिएनआईले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’ को प्रशंसा गर्दै उत्पादनमूलक उद्योग स्थापना र संचालनका लागि सहज हुने गरी नीति निर्माण तथा संशोधन गरिने वचन दिए ।

‘के गर्दा सरकारको राजश्व बृद्धि हुन्छ र निजी क्षेत्रलाई सहज हुन्छ त्यो काम गर्न म तयार छु,’ उनले भने, ‘श्रम शक्तिको हिसावले अहिलेको समय उपयुक्त समय हो । देशमा युवा बहुल जनसंख्या भएको बेला हो यो । समय घर्कियो भने काम गर्न गाह्रो हुन्छ । यो अवसरलाई ध्यान दिएर काम गर्न जरुरी छ ।’

सुझावपत्र हस्तान्तरण गर्ने क्रममा सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले हालै जारी मौद्रिक नीति समग्रमा राम्रो रहेको भन्दै सिसिडी रेसियो खारेजीले सृजना गरेको अन्योल चाँडै हटाउन माग गरे । अर्थमन्त्री शर्माले केही द्विविधा रहेको भए समाधान हुँदै जाने बताए ।

अध्यक्ष विष्णुकुमार अग्रवालसहित उपाध्यक्षरु निर्वाणा चौधरी, कृष्णप्रसाद अधिकारी, बीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल सम्मिलित प्रतिनिधिमण्डलले अर्थसचिव मधुकुमार मरासिनीसँग भेट गरी विभिन्न समस्या र प्रस्तुत सुझाव सम्बन्धी जानकारी गराएको छ ।


क्लिकमान्डु