सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ११८.१८% ले वृद्धि, अन्य सूचक कस्ता ?



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा १ सय १८.१८ प्रतिशतले वृद्धि भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा १९ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको थियो । जुन गत आवमा २२ करोड ५८ लाख रुपैयाँले थप गरी ४१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

बैंकद्वारा प्रकाशित गत आवको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकले २८ करोड ८३ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । गत आवमा बैंकको कायम चुक्ता पुँजी २ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ हो । सो अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

यसैगरी, बैंकले गत आवमा ४१ अर्ब ७९ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ९ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले १ अर्ब १९ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.०६ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब ५ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानीसँगै अन्य सञ्चालन आम्दानी बढ्दा खुद नाफा वृद्धि हुन सहयोग पुगेको देखिन्छ । अघिल्लो आवको तुलनामा बैंकले अन्य सञ्चालन आम्दानी ३ हजार १ सय १.४२ प्रतिशतले बढाएको छ । अघिल्लो आवमा बैंकले अन्य सञ्चालन आम्दानी ७५ लाख ३० हजार रुपैयाँ गरेको थियो । जुन गत आवमा २३ करोड ३५ लाख ५९ हजार रुपैयाँले थप गरी २४ करोड १० लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको हो ।

साथै, सो अवधिमा बैंकले १ अर्ब ४२ करोड ५२ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४८.२२ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.४० प्रतिशत, बेसरेट ८.५४ प्रतिशत, स्पेडदर ४.२९ प्रतिशत र कष्ट अफ फण्ड ११.८६ प्रतिशत छ । साथै, प्रतिसेयर आम्दानी १५ रुपैयाँ २३ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ३५ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात २७.८३ गुणा छ ।


क्लिकमान्डु