उत्पादनमूलक अर्थतन्त्र निर्माणमा जोड दिन परिसंघको आग्रह



काठमाडौं । नेपाल उद्योग परिसंघले उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्नका लागि आग्रह गरेको छ ।

मुलुकमा विदेशी मुद्रा ल्याउन सहयोग गर्ने सबै वस्तुको निर्यातमा नगद अनुदानको व्यवस्था गर्न समेत अर्थमन्त्रीलाई परिसंघले आग्रह गरेको छ ।

अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको श्वेतपत्रमा टिप्पणी गर्दै परिसंघले नेपालको कूल ग्राहस्थ उत्पादनको संरचनामा उद्योगको योगदान कमजोर रहेको र यसलाई परिवर्तन गर्न औद्योगिकरणमा जोड दिनुपर्ने समेत बताएको छ ।

परिसंघले सन् २०२५ सम्ममा कूल ग्राहस्थ उत्पादनमा उद्योगको योगदान २२ प्रतिशत बनाउने लक्ष्यसहित मेक इन नेपाल स्वेदेशी अभियान अघि बढाएको समेत बताएको छ ।

परिसंघले सरकारले आन्तरिक ऋण परिचालन गर्दा निजी क्षेत्रलाई आवश्यक लगानीयोग्य रकम अभाव नहुनेतर्फ सरकार सचेत हुनुपर्ने समेत स्पष्ट पारेको छ ।

परिसंघले आजै स्वास्थ्य राज्यमन्त्रीसँग भेट गरी कोरोनाको खोप उपलब्ध गराउँदा निजी क्षेत्रलाई प्राथमिकतामा राख्न समेत आग्रह गरेको छ ।


क्लिकमान्डु