सहरी विकास तथा भवन निर्माण विभागको भौतिक प्रगति ८५ प्रतिशत



काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागले आर्थिक वर्ष २०७७/७८ मा भौतिक प्रगति ८५ प्रतिशत गरेको छ । विभागले आफ्नो कार्यक्षेत्र रहेका सम्पूर्ण कार्यालयहरूको प्रगति विवरण गरेर औसत ८५ प्रतिशत भौतिक प्रगति गरेको हो ।

२०७७/७८ मा विभागलाई २५ अर्ब ७४ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त विनियोजित बजेटमध्ये २० अर्ब २६ करोड ५३ लाख रुपैयाँ खर्च भएको विभागको तथ्याङ्कले देखाउँदछ । उक्त खर्च भएको वित्तीय खर्च ७८.७१ प्रतिशत मात्रै भएको विभागले जनाएको छ । विभागअन्तर्गत १४ वटा कार्यालय अथवा कार्यक्रम रहेको छ । उक्त कार्यालय र कार्यक्रमअन्तर्गत सबैले ६० देखि ९४ प्रतिशतसम्म भौतिक प्रगति गरेको छ ।

कुन कार्यालयको कति प्रगति ?
सघन सहरी विकास कार्यक्रम:
गत वर्ष विभागको कार्यक्षेत्र रहेका विभिन्न कार्यालयमध्ये सबैभन्दा बढी सघन शहरी विकास कार्यक्रमको लागि बजेट विनियोजन भएको थियो । उक्त कार्यक्रम अन्तर्गत सरकारले ११ अर्ब २१ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । उक्त बजेटमध्ये सो कार्यक्रममार्फत गत वर्ष ९ अर्ब ६९ करोड ४१ लाख रुपैयाँ खर्च भएको विभागले जनाएको छ । जुन ८६.४४ प्रतिशत वित्तिय खर्च हो । जसमा उक्त खर्चबाट ९० प्रतिशत भौतिक प्रगति भएको विभागले उल्लेख गरेको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग: सरकारले सो विभागको लागि ९ करोड ५६ लाख २३ हजार रुपैयाँ विनियोजन गरेकोमा ६ करोड ९४ लाख ३४ हजार मात्रै खर्च भएको छ । सो खर्च ७२.६१ प्रतिशत रहेको विभागले जनाएको छ ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय: विभागकै क्षेत्रभित्र रहेको संघीय सचिवालय निर्माण तथाव्यवस्थापन कार्यालयले आव २०७७/७८ मा ८४ प्रतिशत भौतिक प्रगति गरेको छ । साथै वित्तीय खर्च ७५.८२ प्रतिशत गरेको तथ्याङ्कले देखाउँदछ । सो कार्यालयलको लागि गत वर्ष ५९ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो विनियोजित बजेटमा कार्यालयले ४५ लाख ३१ लाख रुपैयाँ खर्च गरेको छ ।

संघीय सहरी विकास आयोजना कार्यान्वयन कार्यालयहरू: विभागले संघीय सहरी विकास आयोजना कार्यान्वयन कार्यालयका लागि गत वर्ष २२ करोड ४१ लाख रुपैयाँ विनियोजन गरेकोमा १७ करोड ७५ लाख रुपैयाँ खर्च गरेको छ । जसमा वित्तीय ७९.२२ प्रतिशत र ८० प्रतिशत भौतिक प्रगति गरेको छ ।

आवास व्यवस्था कार्यक्रम: देशभरको आवास व्यवस्थापनको लागि विभागले २५ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो विनियोजन गरेकोमध्ये व्यवस्था कार्यक्रममार्फत् १२ करोड ६० लाख रुपैयाँ मात्रै खर्च भएको छ । जसमा वित्तीय प्रगति ४८.४७ प्रतिशत रहेको छ भने ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको विभागले जनाएको छ ।

एकीकृत कार्यमूलक योजना (शहरी विकास): एकीकृत कार्यमूलक योजना योजनाअन्तर्गत सरकारले गत वर्ष १९ करोड ७ लाख रुपैयाँ विनियोजन गरेकोमा एक वर्षको अवधिमा ११ करोड ९० लाख खर्च गरेको विवरण सार्वजनिक गरेको छ । जुन वित्तिय खर्च ६२.४० प्रतिशत रहेको छ भने ७० प्रतिशत भौतिक प्रगति विवरण रहेको छ ।

भवन निर्माण संहिता, सरकारी भवन निर्माण: विभागका अनुसार गत वर्ष भवन निर्माणका लागि २ अर्ब ८९ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त विनियोजित बजेटमध्ये भवन निर्माणले २ अर्ब ६४ करोड ७३ लाख रुपैयाँ खर्च भएको उल्लेख गरेको छ । सो विवरणअनुसार भवन निर्माणले वित्तीय प्रगति ९१.५४ प्रतिशत र भौतिक प्रगति ९४ प्रतिशत गरेको छ ।

नेपाल–भारत सीमा एकीकृत चाँज चौकी विकास आयोजना: गत वर्ष विकास आयोजनालाई विभागले १ करोड ३५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो विनियोजितमध्ये आयोजनाले १ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ । सो आयोजनाले ८४.७० प्रतिशत वित्तिय प्रगति र ८७ प्रतिशत भौतिक प्रगति गरेको छ ।

सहरी शासकीय क्षमता विकास कार्यक्रम: क्षमता विकास कार्यक्रममार्फत् विभागले गत वर्ष १९ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा ८ करोड २१ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । उक्त कार्याक्रममार्फत् ४१.७९ प्रतिशत वित्तीय प्रगति गरेको छ भने ८० प्रतिशत भौतिक प्रगति गरेको विभागले उल्लेख गरेको छ ।

नयाँ सहर आयोजना: देशभरमा नयाँ सहर निर्माण गर्ने नयाँ सहर आयोजनाका लागि गत वर्ष १ अर्ब ८९ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसमध्ये आयोजनाले १ अर्ब ६१ करोड १२ लाख रुपैयाँ खर्च भएको तथ्याङ्कले देखाएको छ । जसमा आयोजनाले ८४.९१ प्रतिशत वित्तीय खर्च र ८९ प्रतिशत भौतिक प्रगति विवरण गरेको छ ।

क्षेत्रीय सहरी विकास कार्यक्रमः क्षेत्रीय विकास कार्यक्रमअन्तर्गत विभागले गत वर्ष ४ अर्ब ९० करोड ६ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा २ अर्ब ४० करोड २६ लाख रुपैयाँ खर्च गरेको छ । जमसा सो कार्यक्रमअन्तर्गत ४९.३ प्रतिशत वित्तीय प्रगति र ६५ प्रतिशत भौतिक प्रगति गरेको छ ।

एकीकृत बस्ती विकास कार्यक्रम: विभागले एकीकृत वस्ती कार्यक्रमका लागि आव २०७७/७८ मा ३४ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त विनियोजित बजेटमध्ये २५ करोड ९९ लाख रुपैयाँ खर्च भएको विभागले उल्लेख गरेको छ । साथै, ७५.९३ प्रतिशत वित्तीय र ७८ प्रतिशत भौतिक प्रगति गरेको छ ।

विशेष भवन निर्माण आयोजना: विशेष भवन निर्माण आयोजना अन्तर्गत विभागले गत वर्ष २ अर्ब ९१ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो बजेट विनियोजितमध्ये २ अर्ब ६० करोड ८९ लाख रुपैयाँ खर्च भएको विभागले जनाएको छ । त्यस्तै, ८९.५२ प्रतिशत वित्तिय र ९८ प्रतिशत भौतिक प्रगति भएको छ ।

सहरी कोरिडोर आयोजनाः सहरी कोरिडोर आयोजनाका लागि गत वर्ष ८७ लाख रुपैयाँ विनियोजन भएकोमा २३ लाख मात्रै खर्च भएको विभागको भनाइ छ । जसमा सो आयोजनाको २६.६७ प्रतिशत मात्रै वित्तीय प्रगति भएको छ ।


क्लिकमान्डु