अर्थमन्त्रीले अर्थविदहरुसँग भने- नेपालमा आर्थिक थिंकट्यांक आवश्यक छ



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थविदहरुको विज्ञतालाई अर्थमन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता रहेको बताएका छन् ।
सोमवार नेपाल आर्थिक संघले अर्थमन्त्रीलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री शर्माले देशको अर्थतन्त्र हाँक्न अर्थमन्त्रालय वा सरकार मात्र पर्याप्न नहुने भन्दै विषय विज्ञहरुको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालको कुनै न कुनै संयन्त्र आवश्यक रहेको बताए । थिंकट्यांकका रुपमा यस्तो संयन्त्र बनाउन आफूले योजना बनाइरहेको पनि अर्थमन्त्री शर्माले बताए ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले विषय विज्ञहरुको विज्ञता प्रयोगमा आउन नसके कर्मचारीहरुमा आफुले नै सबै कुरा जानेको छ भन्ने घमण्ड पलाउने बताए । त्यसतर्फ आफू सचेत रहेको र कर्मचारीहरुमा त्यस्तो भावना आउन नदिनेमा आफू प्रतिवद्ध रहेको पनि अर्थसचिव मरासिनीले बताए ।

नेपाल आर्थिक संघका अध्यक्ष प्राध्यापक विश्वम्भर प्याकुरेलले देशको आर्थिक नीति निर्माणमा आफूहरुले अर्थमन्त्रालयलाई सघाउँदै आएको प्रसंग उल्लेख गर्दै आगामी दिनमा पनि सो क्रम जारी रहने बताए ।

अर्थमन्त्री सँगको भेटघाटमा डा. भवानी ढुंगाना, डा. शिवराज अधिकारी, गोपाल तिवारीलगायत विभिन्न क्षेत्रका विषय विज्ञहरु सहभागी भएका थिए ।


क्लिकमान्डु