विराटनगर एकीकृत जाँच चौकीमा थप पार्किङ यार्ड बन्दै



काठमाडौं । विराटनगर एकीकृत जाँच चौकीमा थप पार्किङ यार्ड र इन्स्पेक्सन शेड बन्ने भएको छ । हाल भएको पार्किङ यार्ड र इन्स्पेक्सन शेडले क्षमता धान्न नसकेपछि उक्त एकीकृत जाँच चौकीमा थप यार्ड र शेडको निर्माण गर्ने भएको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले उक्त यार्ड र शेड बनाउनको लागि बोलपज्ञ स्वीकृत गरेको जनाएको छ । समितिले गत वैशाख ७ गते सो निर्माणको लागि बोलपत्र आह्वान गरेको थियो ।

उक्त बोलपत्र आह्वान गरेकोमा समितिले भूमि बीसीपीएल न्यू जिय जे÷भी विराटनगर छनोट भएको समितिले जनाएको छ । समितिका उप–निर्देशक हरे कृष्ण मिश्रका अनुसार समितिले विराटनगर एकीकृत जाँचलाई थप व्यवस्थित गर्नको लागि उक्त पूर्वाधार निर्माण गर्न लागेको बताए ।

‘विराटनगर एकीकृत जाँच चौकीमा दैनिक ३ सय ५० बढी कन्टेनर र गाडी आवातजावत हुन्छ । तर, उक्त बनाइएको क्षमतमा भनेको २ सयदेखि २ सय ५० को हाराहारीमा हो,’ उनले भने, ‘सो चौकीमा क्षमताभन्दा बढी कन्टेनर र गाडी आउने थालेपछि बाटैमा पार्किङ गर्नुपर्ने अवस्था छ । त्यसैले पार्किङयार्ड बनाउन लागेको हो ।’

समितिले सो संरचना निर्माणको लागि २ करोड ३० लाख ५८ हजार रुपैयाँ भ्याटसहितको रकम स्वीकृत गरेको छ । मिश्रका अनुसार भर्खरै बोलपत्र स्वीकृत भएकाले आगामी २० दिनमा काम शुरु हुने बताए । साथै, उक्त संरचना निर्माण शुरु भएदेखि ९ महिनामा समाउनुपर्ने समय अवधि तोकेको उनको भनाइ छ ।


क्लिकमान्डु