पछिल्ला २ बजेट लेखनमा नेतृत्व गरेका ढुंगाना अर्थमन्त्रालयबाट बाहिरिए



काठमाडौं । गत शुक्रबारको मन्त्रिपरिषदको बैठकले अर्थसचिव शिशिर कुमार ढुंगानाको सरुवा गरेर उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिवका जिम्मेवारीमा पठाएको छ । उनको ठाउँमा महालेखा नियन्त्रक मधुकुमार मरासिनी आएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले उनलाई सोमबार औपचारिक बिदाइ गरे ।

ढुंगाना करिब २ वर्षपछि अर्थमन्त्रालयबाट बाहिरिएका हुन् । उनले गत आर्थिक वर्ष २०७७/७८ र चालु आर्थिक वर्ष २०७८/७९ को बजेट लेखनमा ‘ब्युरोक्राटिक लिड‘ गरेका थिए ।

चालु आर्थिक वर्षका लागि अध्यादेशमार्फत् आएको बजेट उनले अर्थसचिवका रुपमा कार्यान्वयन गर्न भने पाएनन् । त्यसो तर बजेट कार्यान्वयनमा शिशिर ढुगानाको कोरटिम नै बाहिरिने देखिन्छ ।

२०७५ पुसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सरुवा भएका ढुंगाना २०७६ कात्तिकमा राजस्व सचिवका रुपमा फेरि अर्थमन्त्रालय ‘कमब्याक’ गरेका थिए । लालशंकर घिमिरेले अवकास पाएपछि ढुंगानालाई राजस्व सचिवका रुपमा फेरि अर्थमन्त्रालय बोलाइको थियो ।
राजस्व सचिवका रुपमा तीन महिना काम गरेपछि उनले २०७६ माघमा अर्थसचिवको जिम्मेवारी सम्हालेका थिए ।

ढुंगाना २०७३ माघमा सहसचिवबाट सचिव बढुवा भएका थिए । सचिव भएलगत्तै उनले साबिको सुदूरपश्चिमान्चल विकास क्षेत्रमा क्षेत्रीय प्रशासक भएर काम गरेका थिए । ढुंगाना आगामी माघमा सेवानिवृत हुँदैछन् ।


क्लिकमान्डु