हरेक दिन ३ लाखलाई कोरोना खोप, ५ करोड २३ लाख डोज सुनिश्चितः राज्यमन्त्री श्रेष्ठ



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि १ करोड ५० लाख डोज खोपका लागि खरिद सम्झौता गरेको बताएका छन् । उनले असोज मसान्तसम्म २ करोड डोज खोप सुनिश्चित भइसकेको बताए । उनले चैत मसान्तभित्र सबै नेपाललाई खोप लगाउने प्रतिबद्धता व्यक्त गरे ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राज्यमन्त्री श्रेष्ठले भने, ‘किशोरकिशोरी र वयस्कलाई लक्षित गरी मोर्डना ४० लाख, जोनसोन ५० लाख, फाइजर ६० लाख गरी १ करोड ५० लाख डोज खोप खरिद सम्झौता भइसकेको छ ।’

उनले अहिलेको मूल प्राथमिकता खोप भएकाले आफूले सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित गरेको बताए । उनका अनुसार अहिले दैनिक २ लाख ५० हजारदेखि ३ लाख डोज खोप लगाउने काम भइरहेको छ ।

‘हिजो मात्रै २ लाख ६० हजार डोज खोप लगाइएको छ । अब दैनिक करिब ३ लाख डोज खोप लगाउने योजना बनाइएको छ,’ उनले भने ।
उनका अनुसार अहिले राजधानीको टेकु अस्पतालमा ३ लाख ५० हजार डोज खोप, ७ वटै प्रदेश स्तरमा १३ लाख डोज खोप र ७७ वटै जिल्लामा १८ लाख खोप स्टकमा रहेको र लगाउने काम भइरहेको छ ।

आइतबारसम्म कुल ६२ लाख १७ हजार ९९२ डोज खोप लगाइसकिएको छ भने असोज महिनाको अन्तिमसम्म २ करोड डोज खोप आपुर्तीको सुनिश्चित भइसकेको उनले बताए । उनका अनुसार हाल ४० लाख डोज खोपका लागि भुक्तानी भइसकेको र १ करोड १० लाख डोज खोपको भुक्तानी प्रक्रियामा रहेकोब ताए । उनका अनुसार हालसम्म कुल ५ करोड २३ लाख डोज खोप प्राप्त हुने अवस्था भइरहेको छ ।

उनले आगामी २ सातामा चीनबाट प्राप्त हुने भेरोसेल खोप १६ लाख डोज र जापानबाट प्राप्त हुने एस्ट्रोजोनाको १६ लाख डोज खोप आइपुग्ने पनि बताए ।

उनले कोरोना विरुद्धको खोप नेपालमै व्यवसायिक उत्पादनको सम्भावनाको अध्ययन समेत अगाडि बढाइएको बताए । उनले खोप खरिदका लागि सरकार र एडीबीबीच १६५ मिलियन डलरको सम्झौता भएको पनि बताए ।


क्लिकमान्डु