ग्वार्को चोकमा बन्ने भयो फ्लाइओभर, ठेक्का आह्वान



काठमाडौं । चक्रपथको ग्वार्को चोकमा फ्लाइओभर बन्ने भएको छ ।

सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ग्वार्को चोकमा ४ लेनको फ्लाईओभर बनाउन सोमबार बोलपत्र आह्वान गरेको छ ।

स्वदेशी निर्माण व्यवसायीबाट फ्लाइओभर ओभर निर्माण गर्नेगरी केन्द्रले ठेक्का आह्वान गरेको हो । ठेक्का प्रक्रियामा सहभागी हुनका लागि १८ करोड ७० करोड रुपैयाँको टर्नओभर हुनुपर्छ ।

फ्लाइओभर बनाउन इच्छुक निर्माण व्यवसायीले २०७८ साउन २६ गते बोलपत्र प्रस्ताव बुझाउनुपर्नेछ । ईन्जिनियरिङ प्रोक्युरेमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडल अन्तर्गत फ्लाईओभर निर्माण गर्नुपर्ने हुन्छ । निर्माणको जिम्मा पाउने कम्पनीले नै फ्लाईओभरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नुपर्ने हुन्छ ।

फ्लाईओभर २ वर्षभित्रमा निर्माण गर्ने योजनाका साथ केन्द्रले ठेक्का निकालेको हो । यसमा डीपीआरको अवधि ४ महिना रहेको छ । यसअघि नै केन्द्रले ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर निर्माण गर्ने भनेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो ।

जियोकम÷बीडीए÷रेज जेभी डीपीआर तयारगरी केन्द्रलाई हस्तान्तरण गरिसकेको छ । परामर्शदाताले तयार गरेको डीपीआरको आधारमा निर्माणकर्ताले डीपीआरलाई पूर्णता दिनेछ ।

बिस्तारित चक्रपथमा बढ्दो ट्राफिक चापलाई व्यवस्थापन गर्न पहिलो चरणमा ग्वार्को चोकमा फ्लाईओभर निर्माण गर्न लागिएको केन्द्रका सिनियर डिभिजनल इन्जिनियर सौरभ बज्राचार्यले बताए ।

‘उपत्यकाको प्रमुख समस्याका रुपमा ट्राफिक जाम देखिएको छ । वर्षेनी सवारीसाधन थपिरहेका छन्’, बज्राचार्यले भने, ‘बढ्दो ट्राफिक चाप व्यवस्थापन गर्न नयाँ संरचना आवश्यक छ । परम्परागत डिजाइनको सडकले ट्राफिक चाप धान्न सकिने अवस्था छैन ।’

ग्वार्को चोकमा फ्लाइओभर निर्माण गर्न करिब ३५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

आगामी आर्थिक वर्षको बजेटमा ग्वार्को र सातदोबाटो र एकान्तकुना चोकमा फ्लाईओभर निर्माणकार्य आरम्भ गरिने उल्लेख छ । चक्रपथ विस्तार तथा सुधारका लागि २ अर्ब ६४ करोड विनियोजन गरिएको छ ।

ग्वार्कोमा चोकमा फ्लाईओभर निर्माण गर्न अर्थ मन्त्रालयले करिब ३५ अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चिता दिइसकेको छ । स्रोत सुनिश्चित भएकाले केन्द्रले फ्लाईओभर निर्माणका लागि ठेक्का निकालेको हो ।

केन्द्रले ग्वार्कोसँगै सातदोबाटो र एकान्तकुना चोकमा फ्लाईओभर बनाउने योजना बनाएको छ । तर एकै पटक ३ स्थानमा निर्माण शुरु गर्दा ट्राफिक व्यवस्था पन गर्न कठिन हुने भएकाले पहिलो चरणमा ग्वार्को चोक रोजिएको हो । ग्वार्को चोकमा निर्माण हुने फ्लाईओभरले ट्राफिक व्यवस्थापनमा कतिको सहयोग पुर्याउँछ भन्ने आधारमा सातदोबाटो र एकान्तकुना चोकमा फ्लाईओभर निर्माण प्रक्रिया अघि बढाउने केन्द्रको योजना छ ।

यस्तो हुनेछ ओभरपास
परामर्शदाताले तयार गरेको डिजाइन अनुसार ग्वार्को चोकमा ओभरपास (सडक माथि सडक) निर्माण गरिनेछ । ३५ मिटर लम्बाइको ओभरपास हुनेछ ।

ओभरपासको उचाई ५.५ मिटरको हुनेछ । ओभरपासमा सवारीसाधन चढ्नका लागि दायाँतर्फ १८० मिटरको र बायाँ ११० मिटरको र्याम निर्माण गरिनेछ । ओभरपासले चक्रपथको मूख्य चार लेन ओगट्ने छ । चक्रपथको मूख्य सडक प्रयोग गर्ने सवारीसाधन ओभरपास हुँदै गुड्नेछन् ।
ग्वार्को–लामाटार सडक र ग्वार्को–पाटन सडकतर्फ जाने सवारीसाधन भने ओभरपास मुनिबाट गुड्नेछन् ।


क्लिकमान्डु