एक वर्षमा ३३ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य, लिटरमै ५७ रुपैयाँ कर



काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपाल आयल निगमले पछिल्लो पटक मंगलबार पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

स्वचालित प्रणालीमा आधारित भइ हरेक १५ दिनमा मूल्य समायोजन गर्ने नीति अनुरुप निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले मूल्य बढाएर पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैयाँ पुर्याएको छ । तर यति हुँदाहुँदै पनि निगम भने अझै घाटामै छ ।

कर उठाउने मात्रै ध्याउन्नमा लागेको सरकारले केही कर घटाउने हो वा छुट दिने हो भने मात्रै पनि पेट्रोलियम पदार्थको मूल्य केही कम हुन जान्छ । तर, यसतर्फ हालसम्म कुनै पनि सरकारले सोचेको समेत छैन, कार्यान्वयन त झनै परको कुरा भयो ।

अहिले ६६.५७ रुपैयाँमा खरिद गरेको एक लिटर पेट्रोलमा ५६.६१ मात्रै उपभोक्ताले कर तिर्नुपर्छ । त्यसमा प्रतिलिटर भन्सार शुल्क २५.२ रुपैयाँ, भन्सार सेवा शुल्क ०.०२५ रुपैयाँ, सडक मर्मत् शुल्क ४ रुपैयाँ, प्रदुषण शुल्क १.५ रुपैयाँ, पिएसएफ १.१ रुपैयाँ र पूर्वाधार कर मात्रै १० रुपैयाँ तिर्नुपर्छ ।

यो सबै करको भार उपभोक्ताको टाउको मै पर्छ । यस्तै, भ्याट समेत उपभोक्ताले नै तिर्नुपर्छ । करै करका कारण उपभोक्ताले सधै महंगोमा पेट्रोलियम पदार्थ खरिद गर्नुपरेको छ ।

अब डिजलमा हेरौं, भन्सार १२, भन्सार सेवा शुल्क ०.०२५ प्रतिशत, सडक मर्मत शुल्क २, प्रदुषण शुल्क १.५, पिएसएफ ०.९३, पूर्वाधार कर १० रुपैयाँ उपभोक्ताले बेहोर्नु परेको छ ।

यस्तै भ्याट पनि उपभोक्ताको टाउकोमा नै पर्छ । यस्तै, पेट्रोल पम्पको कमिसन समेत उपभोक्ताले नै तिर्नुपरेको छ । यी सबै कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य बढी तिर्नुपरेको छ ।

विष्णु पौडेल पहिलो पटक अर्थमन्त्री हुँदा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि भन्दै पेट्रोलियम पदार्थमा ५ रुपैयाँ कर लगाएका थिए । उक्त कर वापत झण्डै ६० अर्ब बढी रकम जम्मा भइसकेको छ । सो रकम राज्यकोषमा जम्मा हुन्छ । तर, बुढीगण्डकी हालसम्म पनि अगाडि बढेको छैन ।

यस्तै, हाल पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वाधार करको नाममा थप ५ रुपैयाँको भार थपिदिए । सो भार थपिदा पूर्वाधार कर वापत मात्रै प्रतिलिटर १० रुपैयाँ उपभोक्ताले तिर्नुपरेको छ । पूर्वाधार कर वापत कति पैसा उठ्यो भन्ने बारेमा सरकारले हालसम्म कुनै पनि जानकारी दिएको छैन ।

यसरी बढ्यो मूल्य
गत वर्षको असार १६ गतेबाट निरन्तर मूल्य बढाएको निगमले असार २४ गतेसम्म आइपुग्दा ३३ रुपैयाँले बढाएको छ । हाल पेट्रोल प्रतिलिटर १२९ रुपैयाँ कायम भएको छ ।

यति हुँदा पनि निगमलाई अझै पेट्रोल एक लिटरमा ७.४५ रुपैयाँ घाटा छ । त्यसैगरी ११२ रुपैयाँमा डिजल र मट्टितेल बिक्री गर्दा प्रतिलिटर ४.३५ रुपैयाँ, एलपी ग्यासमा प्रतिसिलिण्डर ३१९.३२ रुपैयाँ अझै घाटा छ ।

निगमले आफू घाटामा गएको भन्दै गत वर्षको असार १६ गते ९६ रुपैयाँ मूल्य रहेको पेट्रोलमा ५ रुपैयाँले बढाएर १०१ रुपैयाँ कायम गरेको थियो । उक्त मुल्यमा निरन्तर २ रुपैयाँको बढाएर १ सय २९ रुपैयाँ मूल्य कायम गरेको छ । त्यस्तै, डिजेल पनि एक वर्षको अवधिमा प्रतिलिटर २७ रुपैयाँले बढेको छ ।

जसमा उक्त समायोजन गरेपछि हाल निषेधाज्ञा समयको बिक्री परिमाण अनुसार १५ दिनमा करिब ९१ करोड ३५ लाख रुपैयाँ घाटा हुने देखिएको उनको भनाइ छ ।

एकातिर निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यको आधारमा निरन्तर मूल्य बढाएको छ भने अर्को निगमले १५ दिनमै १ अर्ब १० करोड घाटा बेहोरिरहेको दावी गरेको छ । लगातार घाटा भएको दावी गर्ने निगमले चुहावट नियन्त्रण तथा अनेक स्वरुपमा लागेको कर घटाउनेतर्फ हालसम्म कुनै पहल गरेको छैन ।

निगमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार निगमलाई इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यअनुसार कोभिड निषेधाज्ञाको समयमा भएको बिक्री परिमाणलाई आधार मान्दा १५ दिनमा मात्रै निगमलाई करिब १ अर्ब १० करोड ५० लाख रुपैयाँ घाटा व्यहोरेको देखिन्छ ।

निगमका अनुसार पछिल्लो तीन वर्षको अवधिको तुलना गर्दा हाल कच्चा तेलको मूल्य उच्च रहेको जनाएको छ ।

‘पछिल्लो समय निगमले निरन्तर घाटा बेहोर्दैै आएको छ । कम्पनी सञ्चालन गर्न मात्रै भए पनि ब्रेक इभनमा वा कम्पनीमा घाटा वा नाफामा हुनुपर्छ भन्ने हो । तर, त्यो पनि हुन सक्ने अवस्था छैन,’ निगममा प्रवक्ता विनितमणी उपाध्यायले भने ।

उनले हाल मूल्य बढाएर पनि घाटाको रकम केही मात्राले घट्ने जिकिर गरे । नेपाल पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रियमा पूर्णनिर्भर छ । साथै सोहीअनुसार मूल्य निर्धारण हुने भएकाले यसमा निगमले केही गर्न नसक्ने उनको भनाइ छ ।

त्यस्तै, चालु आवसम्ममा निगमले करिब ४ अर्बको घाटा बेहोर्नसक्ने उनको अनुमान छ ।

‘निगमले १५ दिनमै १ अर्बभन्दा बढी घाटा बेहोरिरहेको छ । हालसम्मको अवस्था हेर्दा चालु आवसम्ममा ४ अर्बको घाटा हुने देखिन्छ,’ उनले भने ।

साथै, निगमका अनुसार पेट्रोलियम पदार्थमा आगामी दिनमा अझै मूल्य वृद्धि हुन सक्ने उनको भनाइ छ ।


क्लिकमान्डु