मध्यावधि चुनावको कार्यतालिका सार्वजनिकः असार ३१ देखि दल दर्ता, भदौ २३ मा मतदाता नामावली प्रकाशन
काठमाडौं । आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि तय भएको मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावमा जान गरेको निर्णय विरुद्ध सर्वोच्च अदालतमा सुनुवाई चलिरहेको बेला आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार ३१ गतेदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ताको प्रकृया शुरु गरिने जनाइएको छ । मध्यावधि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले साउन १५ गतेसम्म आयोगमा दल दर्ता गराइसक्नुपर्नेछ ।
प्रत्यक्षतर्फको पहिलो चरणको निर्वाचनका लागि दलका उम्मेद्वारले असोज २० र स्वतन्त्र उम्मेद्वारले असोज २१ गतेसम्म मनोनयन दर्ता गरीसक्नुपर्नेछ ।
असोज २४ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने र २५ गते निर्वाचन चिन्ह उपलब्ध गराउने आयोगको कार्यतालिकामा उल्लेख छ । पहिलो चरणको निर्वाचन कात्तिक २६ गते तोकिएको छ ।
त्यस्तै, प्रत्यक्षतर्फको दोस्रो चरणको निर्वाचनका लागि असोज ३१ गतेसम्म उम्मेद्वार मनोनयन दर्ता, कात्तिक ४ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र ५ गते चुनाव चिन्ह दिने कार्यतालिका तोकिएको छ ।
आयोगको कार्यतालिकाअनुसार भदौ २३ गते अन्तिम मतदाता नामावली प्रशासन र मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरिनेछ ।