कोरोनाका कारण रोकिएको जनगणना शुरु गर्नेबारे अन्योल, मिति तोकेर मन्त्रिपरिषद् पठाइँदै



काठमाडौं । कोभिड १९ महामारीको बढ्दो संक्रमणदर र यसको रोकथाम तथा नियन्त्रणका लागि देशव्यापीरुपमा जारी भएको निषेधाज्ञाका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ कहिले शुरु गर्ने भन्नेमा अन्योलता देखिएको छ ।

यसै वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने जनगणनाको नयाँ मिति तोक्नेबारे केन्द्रीय तथ्यांक विभाग अन्योलमा देखिएको हो । विभागका सूचना अधिकारी तीर्थराज चौलागाँईले जनगणनाको नयाँ कार्यतालिकाबारे अहिले आन्तरिक र विभिन्न निकायहरुसँग छलफल भइरहेको बताए ।

‘महामारीका कारण रोकिएको जनगणना फेरि कहिलेबाट शुरु गर्ने भनेर टुंगो लागिसकेको छैन । हामी आन्तरिक र विभिन्न समन्वयकारी निकायहरुसँग छलफल गरिरहेका छौं । नयाँ कार्यतालिका चाँडै सार्वजनिक हुन्छ,’ चौलागाँईले भने ।

राष्ट्रिय योजना आयोग, गृह मन्त्रालयलगायत निकायहरुको समन्वयपछि नयाँ कार्यतालिका तय गर्ने र उक्त कार्यतालिका स्वीकृतीका लागि मन्त्रिपरिषदमा पठाउने तयारी भईरहेको उनको भनाइ छ । तर, कार्यतालिका बारे टुंगो भने लागिसकेको छैन ।

वैशाख १६ गतेबाट देशव्यापी रुपमा निषेधाज्ञा लागू भएपछि विभागले जनगणनामा खटिने गणक र सुपरीवेक्षकको तालिम पनि स्थगित गरेको थियो । ९ हजार बढी सुपरीवेक्षकको तालिम चलिरहेको र गणकको सर्टलिस्ट हुन बाँकी रहेको अवस्थामा काम रोकिएको थियो । यसबारे पनि विभागले कुनै निर्णय गरेको छैन ।


क्लिकमान्डु