सस्तो भाडा र यात्रुको सहजताका लागि उडान संख्या थपौंः बुध्द एयरका एमडी बीरेन्द्रबहादुर बस्नेत
काठमाडौं । आन्तरिक उडानमा निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरका प्र्रबन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले पूर्ण क्षमतामा हवाई उडान सञ्चालन गर्न माग गरेका छन् ।
क्लिकमाण्डूसँग कुरा गर्दै बस्नेतले हवाई उडानमा कोरोना भाइरस संक्रमणको जोखिम पनि न्यून रहेको भन्दै उडान संख्या थप गर्न सरकार समक्ष माग गरे ।
‘सवारी साधनमा जोर–बिजोर प्रणाली पनि हटिसक्यो, महाबौद्ध र इन्द्रचोक जस्ता भिडभाड हुने क्षेत्रमा व्यवसाय पनि शुरु भइसकेको छ । यस्तो अवस्थामा हवाई उडान संख्या कटौती यथावत राख्नु जरुरी छैन,’ उनले भने ।
पूर्ण क्षमतामा उडान संख्यामा उडान गर्न सकियो भने एकातिर भाडा पनि सस्तो हुन्छ भने अर्कोतर्फ धेरैभन्दा धेरै यात्रुले सहजरुपमा यात्रा गर्न सकिने उनको भनाइ छ ।
‘निषेधाज्ञाकै बीचमा हामीले विमान पनि थप गरेका छौं । अब हामीले १५ वटा विमानबाट दैनिक ५ वटा उडानका दरले ७५ वटासम्म उडान गर्न सक्छौं । जसबाट ७ हजार ५०० भन्दा बढी यात्रुले एकै दिनमा बुध्द एयरबाट उडान गर्न सक्छन्,’ ‘यस्तो अवस्थामा यात्रुलाई बसमा यात्रा गर्नुभन्दा हवाई यात्रा निकै सुरक्षित हुन्छ,’ उनले भने ।
उनले हवाई यात्रा गर्ने यात्रुले विश्व स्वास्थ्य संगठनले तोके बमोजिमको सबै स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पालना गर्ने र यात्रा पनि छिटो र छरितो हुने बताए । उनले धेरै उडान हुँदा यात्रुको टिकट दर पनि सस्तो हुने बताए ।
उडान संख्या ५० प्रतिशत कटौती गर्दा सञ्चालन खर्च धेरै हुन्छ । थोरै उडान संख्या हुँदा टिकटको माग बढी हुने भएकाले टिकटको मूल्य स्वभाविक रुपमा केही महंगो पर्न जान्छ तर धेरै उडान भयो भने यसले खर्च कम हुने भएकाले टिकटको मूल्य पनि पहिलेकै हाराहारीमा आउने उनको भनाइ छ ।
केही दिनयता मुलुकका विभिन्न भागमा भारी वर्षाका साथै बाढी र पहिरोका कारण यात्रुहरुको यात्रा अवरुद्ध भएको बताउँदै उनले यसको सबैभन्दा राम्रो विकल्प हवाई उडान भएको बताए । यसका लागि सरकारले छिटोभन्दा छिटो पूर्ण क्षमतामा उडान सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ छ ।