साढे १ खर्ब पुनरकर्जा प्रवाह, सबैभन्दा बढी पर्यटन क्षेत्रलाई, कुन बैंकबाट कति ?



काठमाडौं । सहुलियत दरमा नेपाल राष्ट्र बैंकले हालसम्म १ खर्ब ४८ अर्ब १३ करोड रुपैयाँ पुनरकर्जा सुविधा प्रदान गरेको छ ।

पुनरकर्जा राष्ट्र बैंकले पहिलो र दोस्रो किस्ता गरी गत मंसिरयता कोरोना प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखी प्रवाह गरिरहेको छ ।

जसमा एकमुष्ठ पुनरकर्जा ९२ अर्ब ३५ करोड रुपैयाँ, ग्राहक मूल्यांकलको आधारमा ४५ अर्ब ८४ करोड रुपैयाँ र लघुवित्त संस्थामार्फत् १० अर्ब २३ करोड रुपैयाँ पुनरकर्जा प्रवाह भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

पुनरकर्जाको ब्याजदर
राष्ट्र बैंकले पुनरकर्जा साधारण, विषेश र लघु, घरेलु तथा साना उद्यममा वर्गीकरण गरी सोही अनुसार ब्याजदर निर्धारण गरेको छ ।

यस्तो पुनरकर्जा राष्ट्र बैंकले कोभिड प्रभावित क्षेत्रलाई वर्गीकरण गरी सोहीअनुसार पाउने प्रवधान गरेको छ । कोभिड प्रभावित क्षेत्रलाई अति, मध्यम र न्यून गरी वर्गीकरण गरिएको छ । अति प्रभावित क्षेत्रलाई विषेश पुनरकर्जा र मध्यम र न्यून प्रभावितलाई साधारण पुनरकर्जा प्रवाह गरिन्छ भने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा राष्ट्र बैंक वा बैंकहरुले मूल्यांकनको आधारमा प्रवाह गर्छ ।

चालु आवको असार १५ गतेसम्म बिषेश पुनरकर्जा राष्ट्र बैंकले बैंकहरुलाई १ प्रतिशतमा र बैंकहरुले ऋणीलाई ३ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्छन् ।

साधारण पुनरकर्जा राष्ट्र बैंकले बैंकहरुलाई ३ प्रतिशत ब्याजदरमा र बैंकहरुले ऋणीलाई ५ प्रतिशतमा र लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा राष्ट्र बैंकले बैंकहरुलाई २ प्रतिशतमा र बैंकहरुले ऋणीलाई ५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्छन् ।

राष्ट्र बैंकद्वारा प्राप्त तथ्यांक अनुसार असार १५ गतेसम्म बैंक तथा वित्तीय संस्थामार्फत् साधारण पुनरकर्जा ९३ अर्ब ६८ करोड रुपैयाँ, विषेश पुनरकर्जा १३ अर्ब १५ करोड रुपैयाँ र लघु घरेलु तथा साना उद्यम पुनरकर्जा २५ अर्ब १५ करोड रुपैयाँ प्रवाह भएको छ ।

कसरी प्रदान गरिन्छ पुनरकर्जा ?
एकमुष्ठ पुनरकर्जामा बैंक तथा वित्त कम्पनीबाट ग्राहकबाट प्राप्त आवेदनको आधारमा ऋणीको संख्यासहित पुनरकर्जा मागको राष्ट्र बैंकले स्वीकृत गर्छ । स्वीकृत पुनरकर्जा बैंकले ऋणीको व्यवसायीक योजना र आवश्यकता मूल्यांकन गरी प्रदान गर्छ ।

ग्राहक ऋणीअनुसारको पुनरकर्जामा बैंक तथा वित्त कम्पनीले ग्राहकऋणीले दिएको आवेदनलाई राष्ट्र बैंक पठाउछन् । सोे आवेदनको मूल्यांकन गरी राष्ट्र बैंकले माग गरिएको पुनरकर्जा प्रदान गर्छ । जस राष्ट्र बैंकले वर्गीकरण गरेको क्षेत्रमा परेकामा ऋणीले पुनरकर्जा न्यूनतम १ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर अनुुदानमा उपयोग गर्न पाउँछन् ।

पुनरकर्जा सुविधा प्राप्त गर्नका लागि बैंक तथा वित्तीय संस्थाको पुरानो ऋणी हुनुपर्ने छ । सोही ऋणको पहिले निर्धारित ब्याजदरमा पुनरकर्जा सुविधा पाउने ऋणीले ब्याजदर छुट पाउँछन् । जसमा एकमुष्ट पुनरकर्जा १ वर्षका लागि हुन्छ भने सोको नवीकरण हुँदैन । तर ग्राहक ऋणी मूल्यांकलको आधारमा दिइने पुनरकर्जा ६ महिनाको अवधिलाई दिएर पुनः ६ महिना नवीकरण हुन्छ ।

कुन क्षेत्रलाई कति पुनरकर्जा ?
बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने एकमुष्ठ पुनरकर्जाको ऋणीका साथै क्षेत्रगत विवरण राष्ट्र बैंकमा पठाउन पर्दैन । बैंकहरुले पठाएको ग्राहक ऋणी मूल्यांकनको विवरणमात्र राष्ट्र बैंकमा हुन्छ ।

ग्राहक ऋणी मूल्यांकनको आधारमा ४५ अर्ब ८५ करोड रुपैयाँ बढी पुनरकर्जा प्रवाह भएको छ ।

जसमध्ये सबैभन्दा बढी पर्यटन क्षेत्रले प्राप्त गरेका छन् । असार १५ गतेसम्म पर्यटन क्षेत्रले २१ अर्ब ८० करोड २२ लाख रुपैयाँ पुनरकर्जा सुविधा प्राप्त गरेका हुन् ।

यसैगरी, सो अवधिमा म्यानुफ्याचरिङ क्षेत्रले ६ अर्ब ४३ करोड १५ लाख रुपैयाँ, कन्स्ट्रसन क्षेत्रले ३ अर्ब ९७ करोड ८७ लाख रुपैयाँ, स्वास्थ्य क्षेत्रले ३ अर्ब ७८ करोड ८८ लाख रुपैयाँ, शिक्षा क्षेत्रले २ अर्ब ९७ करोड ३६ लाख रुपैयाँ र हाइड्रोपावर क्षेत्रले २ अर्ब ५८ करोड १४ लाख रुपैयाँ पुनरकर्जा सुविधा प्राप्त गरेका छन् ।

सो अवधिमा यातायात क्षेत्रले १ अर्ब २७ करोड २६ लाख रुपैयाँ, सञ्चार क्षेत्रले ८७ करोड ४२ लाख रुपैयाँ, टेक्सटायल क्षेत्रले ८२ करोड ३३ लाख रुपैयाँ, कृषि क्षेत्रले ७८ करोड ७० लाख रुपैयाँ, मनोरञ्जन क्षेत्रले ३३ करोड ६२ लाख रुपैयाँ, व्यापार क्षेत्रले १८ करोड ५८ लाख रुपैयाँ र अन्य क्षेत्रले १ करोड ५० लाख रुपैयाँ पुनर कर्जा ग्राहक ऋणी मूल्यांकनको आधारमा प्राप्त गरेका छन् ।

कुन बैंकमार्फत् कति ग्राहकऋणी मूल्यांकनमा पुनरकर्जा
राष्ट्र बैंकबाट प्राप्त तथ्यांक अनुसार चालु आवको असार १५ गतेसम्म ग्राहकऋणी मूल्यांकनको आधारमा ३४ वटा बैंक तथा वित्त कम्पनीले पुनरकर्जा प्रवाह गरेका छन् । जसमा २७ वटा वाणिज्य बैंक, ५ वटा विकास बैंक र २ वटा वित्त कम्पनी हुन् ।

सो अवधिमा ग्राहकऋणी मूल्यांकनको आधारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेण्ट बैंकबाट प्रवाह भएको छ । बैंकले ४ अर्ब ३२ करोड ८० लाख रुपैयाँ पुनरकर्जा प्रवाह गरेको हो ।

यसैगरी, ग्लोबल आइएमई बैंकले ३ अर्ब ७७ करोड ४० लाख, बैंक अफ काठमाण्डूले ३ अर्ब ५३ करोड १६ लाख, सिद्धार्थले ३ अर्ब ३७ करोड ३५ लाख, प्रभुले ३ अर्ब २६ करोड ६४ लाख र नबिल बैंकले ३ अर्ब ५७ लाख रुपैयाँ ग्राहकऋणी मूल्यांकनको आधारमा पुनरकर्जा प्रवाह गरेका छन् ।

साथै, असार १५ गतेसम्म नेपाल बैंकले २ अर्ब ७८ करोड ९९ लाख रुपैयाँ, मेगाले २ अर्ब ६२ करोड ३२ लाख, कुमारीले २ अर्ब १६ करोड ८४ लाख, नेपाल एसबिआइले, १ अर्ब ८० करोड २ लाख, लक्ष्मीले १ अर्ब ५९ करोड ८९ लाख र एनसीसी बैंकले १ अर्ब ५४ करोड ६७ लाख रुपैयाँ ग्राहकऋणी मूल्यांकनमा पुनरकर्जा प्रवाह गरेको छ ।

यसैगरी माछापुच्छ्रे बैंकले १ अर्ब ३८ करोड १५ लाख, सिभिलले १ अर्ब ७ करोड ४४ लाख, हिमालयनले १ अर्ब ७८ लाख, एनआइसी एशियाले १ अर्ब २२ लाख, सानिमाले ९६ करोड ७० लाख, एनएमबिले ८८ करोड ३६ लाख, प्राइमले ७७ करोड ८४ लाख र राष्ट्रिय वाणिज्य बैंकले ७६ करोड ३७ लाख रुपैयाँ ग्राहकऋणी मूल्यांकनमा पुनरकर्जा प्रवाह गरेको छ ।

साथै, नेपाल बंगलादेश बैंकले ५४ करोड ५८ लाख रुपैयाँ, एभरेष्टले ४४ करोड ५७ लाख, सिटिजन्सले ३९ करोड ८९ लाख, बैंक अफ काठमाण्डूले ३१ करोड ४५ लाख, सनराइजले ३० करोड ३२ लाख, लुम्बिनी विकास बैंकले २० करोड ७८ लाख र स्टयाण्डर्ड चार्टर्ड बैंकले २० करोड रुपैयाँ पुनरकर्जा प्रवाह गरेको छ ।

यस्तै, सो अवधिमा ग्राहक मूल्यांकनको आधारमा महालक्ष्मी विकास बैंकले १८ करोड ६७ लाख रुपैयाँ, आसीएफसी फाइनान्सले १२ करोड ९१ लाख, गरिमा विकास बैंकले ११ करोड १२ लाख, युनाइडेड फाइनान्सले ९ करोड ७० लाख र नेपाल बंगलादेश बैंकले ८ करोड ५० लाख रुपैयाँ पुनरकर्जा प्रवाह गरेका छन् ।


क्लिकमान्डु