युनियन लाइफ इन्स्योरेन्सको आइपीओ असार २४ गतेदेखि, कस्तो छ वित्तीय अवस्था ?
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २४ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कुल चुक्तापुँजी २ अर्ब १५ करोडको ३० प्रतिशत सेयर आइपीओमार्फत् निष्कासन गर्न लागेको हो ।
कम्पनीले कुल ६४ करोड ५० लाख रकम बराबरको प्रतिसेयर १ सय रुपैयाँ अंकित सेयरका दरले आइपीओ निष्कासन गर्नेछ । जसमा ५ प्रतिशत अर्थात् ३ लाख २२ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको र ५ प्रतिशत अर्थात् ३ लख २२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आइपीओ असार २४ गते निष्कासन भएर छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गते बन्द हुनेछ । कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म आवेदन दिन पाइनेछ ।
कम्पनीको आर्थिक वर्ष २०७६/७७ को अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १४८.६ रुपैयाँ, प्रतिसेयर आम्दानी ३३.३३ रुपैयाँ र नेटवर्थमा प्रतिफल २२.४५ प्रतिशत छ ।
त्यसैगरी प्रक्षेपित वित्तीय विवरणमा आव २०७७/७८ मा प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ, प्रतिसेयर आम्दानी ४.१७ रुपैयाँ र नेटवर्थमा प्रतिफल ३.५ प्रतिशत छ । त्यसैगरी आव २०७८/७९ मा प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ, प्रतिसेयर आम्दानी ६.२३ रुपैयाँ र नेटवर्थमा प्रतिफल ४.३५ प्रतिशत छ ।